काठमाडौ । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल रूपान्तरणलाई प्रविधि विस्तारमा मात्र सीमित नगरी विपद्का कठिन समयमा समेत नागरिकलाई निरन्तर सेवा, सूचना र सञ्चार दिनसक्ने राष्ट्रिय प्रणालीका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ।
आइसिटी फाउन्डेसन नेपालद्वारा आयोजित डिजिटल नेपाल कन्क्लेभ २०२६ लाई सम्बोधन गर्दै उहाँले रसुवा–भोटेकोशी बाढीले भौतिक पूर्वाधारसँगै नेपालको सूचना प्रणाली, सञ्चार सञ्जाल, संस्थागत समन्वय र विपद् तयारीको समेत परीक्षण गरेको बताउनुभयो।
उहाँले संकटका बेला सूचना पूर्वाधार, सञ्चार सञ्जाल र विश्वसनीय तथ्याङ्क अत्यावश्यक हुने भन्दै डिजिटल प्रणालीलाई भरपर्दो, समावेशी र उत्थानशील बनाउनुपर्नेमा जोड दिनुभयो।
मन्त्री तिमिल्सिनाले डिजिटल नेपालको आगामी प्राथमिकतामा सूचनाको विश्वसनीयता, भरपर्दो कनेक्टिभिटी, सरकारी प्रणालीबीच अन्तरसञ्चालन, नागरिककेन्द्रित डिजिटल सेवा तथा कृत्रिम बुद्धिमत्ता र तथ्याङ्क शासनको जिम्मेवार प्रयोगलाई राख्नुपर्ने बताउनुभयो।
गलत सूचना र अफवाहले संकटका बेला थप अन्योल सिर्जना गर्न सक्ने भन्दै उहाँले तथ्यपरक, पारदर्शी र जवाफदेही सूचना प्रणाली आवश्यक रहेको उल्लेख गर्नुभयो। दुर्गम तथा विपद् प्रभावित क्षेत्रका नागरिकलाई समेत आवश्यक समयमा डिजिटल सेवा र सञ्चारको पहुँच सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ थियो।
कृत्रिम बुद्धिमत्ताले शिक्षा, स्वास्थ्य, आर्थिक विकास, सार्वजनिक सेवा र विपद् तयारीमा नयाँ अवसर सिर्जना गर्न सक्ने बताउँदै उहाँले यसको प्रयोगसँगै तथ्याङ्क सुरक्षा, नागरिक अधिकार र सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो।
भोटेकोशी बाढीको अनुभवले डिजिटल प्रणालीको वास्तविक क्षमता सामान्य अवस्थामा नभई संकटका बेला देखिने बताउँदै मन्त्री तिमिल्सिनाले कठिन परिस्थितिमा पनि प्रभावकारी रूपमा सञ्चालन हुने डिजिटल पूर्वाधार निर्माणलाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्नेमा जोड दिनुभयो।