काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारले सञ्चालन गरेको कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा हालसम्म १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात रहेको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका लागि सरकारले यसअघि नै कोषबाट एक अर्ब रुपैयाँ निकासा गरिसकेको जनाएको छ।
कार्यालयका अनुसार कोषमा जम्मा भएको रकममध्ये विभिन्न नौवटा वाणिज्य बैंकमा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ जम्मा रहेको छ। त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर मौज्दात रहेको छ।
भोटेकोसी बाढीबाट रसुवासहित प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि राहत, उद्धार र पुनःस्थापनाका लागि स्वदेश तथा विदेशबाट सहयोग जुटिरहेको सरकारले जनाएको छ। कोषमा जम्मा भएको रकम प्रभावित नागरिकको आवश्यकता र प्राथमिकताका आधारमा राहत, उद्धार तथा पुनःस्थापनामा परिचालन गरिने बताइएको छ।
बाढीपछि विस्थापित तथा प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्नुका साथै क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र दीर्घकालीन पुनःस्थापनाका काम अघि बढाउन सरकारमाथि दबाबसमेत बढिरहेको छ। कोषमा ठूलो रकम जम्मा हुँदै गएसँगै त्यसलाई पारदर्शी र प्रभावकारी ढङ्गले प्रभावित क्षेत्रमा परिचालन गर्नु अब सरकारको मुख्य चुनौती बनेको छ।