भक्तपुर । सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा सोमबार बिहान आगलागी हुँदा करिब ४० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।
नवराज भट्टले सञ्चालन गरेको विके सप्लायर्समा बिहान अचानक आगलागी भएको हो। आगलागीपछि जुद्ध बारुण यन्त्र भक्तपुरको दमकल तथा स्थानीयवासीको सहयोगमा करिब दुई घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो।
जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजय धौभडेलका अनुसार आगलागीबाट कारखानामा रहेका मेसिन तथा प्लास्टिकका कच्चा पदार्थ पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगो फैलिँदा कारखानासँगै रहेको दिनेश मचामसीको घरमा समेत क्षति पुगेको छ।
प्रहरीका अनुसार आगलागीबाट ४० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीको कारण भने खुल्न सकेको छैन। घटनाबारे प्रहरीले मुचुल्का उठाउने तथा थप अनुसन्धान गर्ने काम गरिरहेको जनाएको छ।
आगलागीपछि बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घटनास्थल पुगेर क्षतिग्रस्त उद्योगको निरीक्षणसमेत गरेका छन्।