जनकपुरधाम । राजर्षिजनक विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५१ करोड १७ लाख २ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। विश्वविद्यालयको सिनेट बैठकमा प्रस्तुत वार्षिक कार्यक्रम तथा बजेटमा भौतिक पूर्वाधार, प्राविधिक शिक्षा, अनुसन्धान र डिजिटल प्रणालीलाई प्राथमिकतामा राखिएको छ।
प्रस्तावित बजेटमध्ये पूँजीगततर्फ २१ करोड ८ लाख ९५ हजार र सञ्चालनतर्फ ३० करोड ८ लाख ७ हजार रुपैयाँ विनियोजन गरिएको छ। विश्वविद्यालय ऐन, २०७४ को व्यवस्थाअनुसार वार्षिक कार्यक्रम तथा बजेट स्वीकृतिका लागि सभामा पेस गरिएको हो।
विश्वविद्यालयले गत आर्थिक वर्ष २०८२/०८३ को प्रगति विवरणसमेत सार्वजनिक गर्दै हाल आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा गरी ५ हजार ९२७ विद्यार्थी अध्ययनरत रहेको जनाएको छ। विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा २० भन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
पछिल्लो समय बिआइटी, एमसिए, बिए एलएलबी र एलएलएमसहित ९ वटा नयाँ विषय सञ्चालनमा ल्याइएको विश्वविद्यालयले जनाएको छ। आगामी शैक्षिक सत्रमा कम्तीमा ५ हजार नयाँ विद्यार्थी भर्ना गर्ने लक्ष्यसमेत राखिएको छ।
प्राविधिक शिक्षालाई विस्तार गर्ने योजनाअन्तर्गत ‘स्कुल अफ हेल्थ साइन्स’ सञ्चालनमा ल्याइएको छ। विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि विभिन्न अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानसँग सहकार्य अघि बढाइएको छ। साथै, जेहेन्दार विद्यार्थीलाई लक्षित गर्दै ‘सिक्दै कमाउँदै’ अवधारणा र बजारको मागअनुसारका पाठ्यक्रम लागू गर्ने नीति लिइएको छ।
विश्वविद्यालयले आफ्नै भौतिक पूर्वाधार निर्माणलाई समेत प्राथमिकता दिएको छ। धनुषाको नगराइनमा प्राप्त ९ बिघा १४ कठ्ठा जग्गामा आधुनिक शैक्षिक भवन निर्माण प्रक्रिया अघि बढाइने भएको छ। त्यस्तै, रौतहटको गौरमा मधेस प्रदेश सरकारको सहकार्यमा पण्डित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पस भवन निर्माण गर्ने योजना छ।
काठमाडौँमा सञ्चालित कानुनसम्बन्धी कार्यक्रमलाई थप व्यवस्थित बनाउन छुट्टै आङ्गिक क्याम्पस स्थापना गर्ने प्रस्ताव अघि सारिएको छ भने बारामा प्रविधि विषयको आङ्गिक क्याम्पस स्थापना गर्ने प्रक्रिया पनि अघि बढाइने भएको छ।
प्राज्ञिक तथा अनुसन्धानको क्षेत्रमा पनि विश्वविद्यालयले नयाँ योजना अघि सारेको छ। आगामी आर्थिक वर्षदेखि उच्चस्तरीय ‘रिसर्च एन्ड इनोभेसन’ निकाय संस्थागत रूपमा स्थापना गर्ने तयारी गरिएको छ। दुई विशिष्टीकृत विधामा अनुसन्धान जर्नल प्रकाशन गर्नुका साथै पूर्वीय दर्शन, रामायण सर्किट, मिथिला कला तथा संस्कृतिको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय सम्मेलन तथा कार्यशाला आयोजना गर्ने योजना छ।
विद्यार्थीको सर्वाङ्गीण विकासका लागि ‘सांस्कृतिक प्रतिभा कार्यक्रम’ सञ्चालन गर्ने र शैक्षिक गुणस्तर सुधारका लागि दोस्रो दीक्षान्त समारोह आयोजना गर्ने कार्यक्रमसमेत प्रस्ताव गरिएको छ।
विश्वविद्यालयले आगामी दिनमा प्रशासनिक, आर्थिक तथा प्राज्ञिक कामलाई प्रविधिमैत्री बनाउँदै ‘पूर्ण डिजिटलाइजेशन’ गर्ने नीति अघि सारेको छ। आगामी शैक्षिक सत्रदेखि सिकाइ व्यवस्थापन प्रणाली, एकीकृत क्याम्पस व्यवस्थापन प्रणाली र विश्वविद्यालय अनुदान आयोगसँग सूचना आदानप्रदान गर्ने एचएमईएस प्रणालीलाई एकीकृत गर्ने तयारी गरिएको छ।
यसअन्तर्गत परीक्षा, भर्ना, मानव संसाधन र लेखा प्रणालीलाई समेत अनलाइन तथा केन्द्रीकृत ढाँचामा सञ्चालन गर्ने विश्वविद्यालयको योजना छ। यसले राजर्षिजनक विश्वविद्यालयलाई विस्तारसँगै प्राविधिक, अनुसन्धानमुखी र डिजिटल विश्वविद्यालयका रूपमा अघि बढाउने लक्ष्य लिएको देखाएको छ।