गण्डकी । बाढीपहिरोका कारण पोखरा–बेनी–जोमसोम सडक अवरुद्ध भएपछि मुस्ताङ जाने यात्रुका लागि हवाई मार्ग एकमात्र विकल्प बनेको छ। सडकमार्ग विच्छेद भएपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप अत्यधिक बढेको छ।
जोमसोम विमानस्थलका प्रमुख विश्वनाथ शर्माका अनुसार यात्रुको चाप बढेपछि तारा र समिट एयरले नियमित उडानको सङ्ख्या बढाएका छन्। यसअघि दुवै कम्पनीले दैनिक पाँच–पाँच उडान गर्दै आएकामा अहिले सात–सात वटासम्म उडान गर्न थालेका छन्।
“मुस्ताङ जोड्ने सडकमार्ग विच्छेद भएपछि जहाजबाट आउजाउ गर्ने यात्रुको चाप बढेको हो,” शर्माले भने। मुख्य पर्यटकीय यामसमेत सुरु भएकाले हवाई मार्ग हुँदै मुस्ताङ पुग्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढेको उनले बताए।
विशेषगरी सोह्रश्राद्धको समयमा मुक्तिनाथ दर्शन तथा कागबेनीमा पितृतर्पणका लागि नेपालका विभिन्न स्थानसँगै भारतबाट समेत हिन्दुधर्मावलम्बी मुस्ताङ पुग्ने गरेका छन्। सडक अवरुद्ध भएपछि उनीहरू पनि हवाई यात्रामै निर्भर हुनुपरेको छ।
यात्रुको चाप बढेपछि एयरलाइन्स कम्पनीहरूले बिरामी, अशक्त तथा विदेशी पर्यटकलाई प्राथमिकता दिँदै आएका छन्। उनीहरूको सहज यात्राका लागि स्थानीय प्रशासन र विमानस्थल कार्यालयले समेत आवश्यक सहजीकरण गरिरहेको विमानस्थल प्रमुख शर्माले बताए।
यता पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार जोमसोम क्षेत्रमा दिउँसो हावाहुरी चल्ने भएकाले अधिकांश उडान बिहानै सञ्चालन गर्नुपर्ने बाध्यता छ। उनका अनुसार दिनभर उडान गर्न सकिने अवस्था भए यात्रुको चाप व्यवस्थापन गर्न सहज हुने थियो।
अधिकांश पोखरा–जोमसोम उडान मध्याह्न १२ बजेअघि नै सम्पन्न हुने गरेका छन्। मौसम र भिजिबिलिटीका कारण यस हवाई रुटमा नियमित उडान सञ्चालन चुनौतीपूर्ण हुने गरेको छ।
वर्षायामका कारण गत जेठ १८ गतेदेखि बन्द रहेको पोखरा–जोमसोम हवाई सेवा भदौको पहिलो सातादेखि पुनः सञ्चालनमा आएको थियो। हरेक वर्ष वर्षायाममा कम भिजिबिलिटीका कारण यो रुटमा हवाई सेवा प्रभावित हुने गरेको छ।
यसैबीच, असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले बेनी–जोमसोम–कोरला सडकखण्डका विभिन्न स्थानमा क्षति पुर्याएपछि सडकमार्ग अवरुद्ध छ। बाह्र दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोरअन्तर्गतको सडक अझै सञ्चालनमा आउन नसकेपछि पोखराबाट मुस्ताङ जाने यात्रुका लागि हवाई मार्गमा निर्भरता बढेको हो।
सडक सञ्चालनमा आएपछि हवाई यात्रुको चाप घट्ने र पोखरा–जोमसोम आवतजावत सहज हुने विमानस्थल अधिकारीहरूको भनाइ छ। हाल भने पर्यटकीय याम र सडक अवरोध दुवैका कारण सीमित हवाई उडानमै यात्रुको चाप व्यवस्थापन गर्नुपर्ने अवस्था छ।