चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाने पर्यटकले अब घरमै बसेर अनलाइनमार्फत प्रवेश टिकट काट्न सक्ने भएका छन्। निकुञ्जले पर्यटकको सहजता र प्रविधिमैत्री सेवा प्रवाहलाई लक्षित गर्दै सौराहा क्षेत्रबाट ई–टिकटिङ प्रणाली सुरु गरेको हो।
यसअघि निकुञ्ज प्रवेशका लागि टिकट लिन भौतिक रूपमा उपस्थित भएर नगद बुझाउनुपर्ने बाध्यता थियो। नयाँ प्रणाली लागू भएसँगै पर्यटकले अनलाइनबाटै आवश्यक विवरण भरेर टिकट काट्न र क्यूआर कोड देखाएर निकुञ्ज प्रवेश गर्न सक्नेछन्। यसले टिकट काट्न लाग्ने समय घटाउनुका साथै पर्यटक तथा पर्यटन व्यवसायीलाई हुने झन्झट कम गर्ने अपेक्षा गरिएको छ।
बिहीबार चितवन क्षेत्र नं. १ का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल र निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले ई–टिकटिङ प्रणालीको उद्घाटन गरेका हुन्।
निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत पुनका अनुसार चितवन राष्ट्रिय निकुञ्जको कुल राजस्वको करिब ७० देखि ७५ प्रतिशत सौराहा क्षेत्रबाट सङ्कलन हुने गरेको छ। पर्यटकको ठूलो हिस्सा पनि यही क्षेत्रबाट निकुञ्ज प्रवेश गर्ने भएकाले पहिलो चरणमा सौराहाबाट अनलाइन टिकटको व्यवस्था सुरु गरिएको हो।
शिवपुरी राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सेवा सुरु भएपछि चितवनमा पनि यस्तो प्रणालीको आवश्यकता थप महसुस गरिएको उनले बताए। सौराहामा सुरु गरिएको प्रणालीको परीक्षण र अनुभवका आधारमा निकुञ्ज प्रवेशका अन्य नाकामा समेत सेवा विस्तार गर्ने योजना रहेको छ।
प्रणाली प्रयोग गर्ने तरिकाबारे पर्यटकलाई जानकारी दिन निकुञ्जको फेसबुक पेज र वेबसाइटमा ट्युटोरियलसमेत राखिने जनाइएको छ। सांसद ढकालले पर्यटन व्यवसायीको सहकार्य र आफ्नो निरन्तरको पहलपछि सौराहामा ई–टिकटिङ प्रणाली सुरु गर्न सम्भव भएको बताए। दोस्रो कार्यकालको पदभार सम्हालेपछि पछिल्लो छ महिनादेखि यस विषयमा नियमित पहल गर्दै आएको उनको भनाइ छ।
प्रविधिको प्रयोग सुरु गर्दा केही अन्योल र प्राविधिक समस्या देखिन सक्ने उल्लेख गर्दै उनले प्रणालीलाई थप व्यवस्थित र व्यावहारिक बनाउनुपर्नेमा जोड दिए। पर्यटक तथा पर्यटन व्यवसायीका सुझाव समेट्दै सेवा सुधार गर्नुपर्ने र टिकटिङ प्रणालीमा संरक्षणप्रतिको योगदान तथा प्रतिबद्धता झल्किने विवरण समावेश गर्न सके स्वस्थ प्रतिस्पर्धालाई समेत प्रोत्साहन गर्न सकिने उनले बताए।
यसैबीच, निकुञ्ज प्रवेशका लागि काटिएको टिकट एक दिन मात्रै मान्य हुने व्यवस्थालाई परिवर्तन गरी तीन दिनसम्म प्रयोग गर्न मिल्ने बनाउने विषयमा पनि पहल भइरहेको सांसद ढकालले जानकारी दिए।
चितवन राष्ट्रिय निकुञ्जमा सौराहा, कसरा, घटगाई, मेघौली, बनकट्टा, माडी, कुजौली, नवलपरासी र अमलटारीलगायतका नाकाबाट पर्यटक प्रवेश गर्ने गर्छन्। निकुञ्जभित्र सौराहाबाट ३२, कसराबाट २२, मेघौलीबाट ११, अमलटारीबाट आठ र माडीबाट एउटा जिप सञ्चालनमा छन्।
एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्तीलगायतका वन्यजन्तु तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकनका लागि चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेका छन्।
निकुञ्ज कार्यालयका अनुसार हाल निकुञ्ज प्रवेशका लागि नेपाली पर्यटकले प्रतिव्यक्ति प्रतिदिन १५० रुपैयाँ, सार्क मुलुकका पर्यटकले एक हजार रुपैयाँ र अन्य विदेशी पर्यटकले दुई हजार रुपैयाँ शुल्क तिर्नुपर्छ। पर्यटक बोक्ने जिपले निकुञ्जमा एकपटक प्रवेश गर्दा पाँच हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था छ।
ई–टिकटिङ प्रणालीअन्तर्गत पर्यटकले आवश्यक विवरण भरेर प्रक्रिया पूरा गरेपछि क्यूआर कोड प्राप्त गर्नेछन्। सोही कोड देखाएर निकुञ्ज प्रवेश गर्न सकिनेछ। पहिलो चरणमा सौराहाबाट सुरु भएको यो सेवा अन्य प्रवेश नाकामा समेत विस्तार भए निकुञ्जको टिकट व्यवस्थापन थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वनमा पर्यटकको आगमनसमेत बढ्दो क्रममा छ। गत आर्थिक वर्षमा दुई लाख ७२ हजार ९२३ पर्यटकले भ्रमण गरेका थिए। अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या दुई लाख ३१ हजार ३२९ थियो।
गत आर्थिक वर्षमा निकुञ्जले पर्यापर्यटनबाट २७ करोड ६३ लाख ३९ हजार ९५० रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ। पर्यटकको बढ्दो आगमन र पर्यटनबाट प्राप्त हुने राजस्वलाई मध्यनजर गर्दै ई–टिकटिङ प्रणालीको विस्तारले सेवा प्रवाह, टिकट व्यवस्थापन र पर्यटकको प्रवेश प्रक्रियालाई थप सहज बनाउन सक्ने देखिन्छ।