काठमाडौं। हनुमानढोका दरबारमा गरिने परम्परागत कालरात्रि पूजा यस वर्ष कात्तिक २ गते सोमबार राति हुने भएको छ। तलेजुका पुजारीले गर्दै आएको परम्परा तथा सम्बन्धित समितिसँगको परामर्शका आधारमा राज्यका तर्फबाट गरिने कालरात्रि पूजाको समय निर्धारण गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिइन्।
उनका अनुसार हनुमानढोका दरबारमा महाअष्टमीको कर्म सम्पन्न गरेपछि लगत्तै अर्को दिन महानवमीको पूजा, आराधनालगायत धार्मिक कर्म गर्ने परम्परा रहेकाले यस वर्ष पनि सोहीअनुसार पूजा सञ्चालन गर्न लागिएको हो।
दरबारको दसैँ घरमा कात्तिक १ गते आइतबार महाअष्टमीको सामान्य पूजा गरिएको छ। महाअष्टमीको मूल पूजा भने सोमबार गरिने दरबार हेरचाह अड्डाले जनाएको छ।
हनुमानढोका दरबारमा महाअष्टमीको राति १०८ पशु बलिसहित विशेष पूजा तथा आराधना गर्ने परम्परा रहिआएको छ। यस पूजालाई दसैँको महाअष्टमीसँग जोडिएको महत्त्वपूर्ण धार्मिक अनुष्ठानका रूपमा लिइन्छ।
हनुमानढोका दरबारमा प्राचीनकालदेखि चलिआएका धार्मिक विधि, परम्परा र संस्कारलाई निरन्तरता दिँदै दसैँका विभिन्न तिथिमा विशेष पूजाआजा सञ्चालन हुँदै आएका छन्। रासस