पोखरा । लेखक अमृत क्षेत्रीको संस्मरणात्मक कृति ‘यादको कोलाज’को पोखरामा लोकार्पण गरिएको छ । ‘पुछारसिटे अभियान’द्वारा आयोजित समारोहमा साहित्यकार सरुभक्तले उक्त कृतिको लोकपार्ण गर्नुभयो ।
गत साता काठमाडौँमा आयोजित ‘कलिङ साहित्य महोत्सव’मा सो कृतिको विमोचन गरिएको थियो । भारतीय सेनाबाट निवृत्त लेखक क्षेत्रीले आफ्नो जीवन भोगाइलाई पुस्तकाकार दिनुभएको हो । साहित्यकार सरुभक्तले क्षेत्रीको लेखनमा गहनता रहेको सुनाउनुभयो ।
जीवन्त लेखन र भाषाशैलीले पुस्तकलाई पठनीय बनाएको उहाँको भनाइ थियो । क्षेत्रीको पुस्तकमा प्रकृति प्रेम पनि उत्तिकै प्रकट भएको सरुभक्तले उल्लेख गर्नुभयो । लेखन आफ्नो सानैदेखिको रुचि भएको क्षेत्रीले बताउनुभयो ।
साहित्यसेवी विश्व सिग्देल, रीता अधिकारी, लक्ष्मण थापा लगायतले क्षेत्रीको लेखनबाट आफूहरु प्रभावित भएको उल्लेख गर्नुभयो । उहाँको यसअघि ‘एकान्त भीड’ कविता सङ्ग्रह प्रकाशित छ । जागिरबाट निवृत्त भएपछि क्षेत्री साहित्य लेखनमा सक्रिय हुनुहुन्छ ।