काठमाडौं । अभिनेता दयाहाङ राईले नेपाली चलचित्र ‘नीरफूल’ फरक धार बोकेको मौलिक चलचित्र भएको दाबी गरेका छन् । उनले आफु अभिनित चलचित्र ‘जारी’मा झल्किएको लिम्बु समुदायको संस्कृतिमा जस्तै नीरफूलमा पनि त्यस्तै मौलिक स्वाद बोकेको दाबी गरे ।
अभिनेता राईले छायाँकनका दौडानमा यो फिल्म खिच्न गणेश हिमाल मुनिको रुबी भ्यालीमा मुस्किलले पुगेको बताए । उनले मौलिक विषयवस्तुलाई फरक ढंगले चलचित्रमा देखाउन खोजिएको बताउँदै यो चलचित्रले सफलता पाउने कुरामा आफु ढुक्क भएको बताए । अभिनेता राईले ‘नीरफूलको कथावस्तु बारे बोल्दै हाम्रो समाजको विषयवस्तुलाई उठान गरिएको जानकारी दिए । उनले यो चलचित्रमा हामीले भोगेको समयको कथा भेटिने जिकिर गरे ।
जेठ २६ गतेदेखि प्रदर्शनीमा आउने चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय रहेको छ । चलचित्रलाई फूलमान वलले निर्देशन गरेका हुन्।