काठमाडौं । ‘इण्डियन आइडल’पछि गायिका मेनुका पौडेल यतिबेला नेपाली राजधानीमा छिन् ।
गत साता काठमाडौं आइपुगेकी उनले अब नेपालका प्रमुख सहरमा सांगीतिक प्रस्तुति दिने छिन् । उनले काठमाडौं, पोखरा, चितवन र इटहरीमा एकल कन्सर्ट गर्ने तय भएको छ ।
तपस्या इन्टरटेनमेन्टको आयोजनामा फागुन १८ गतेदेखि चैत १६ सम्म ती चार सहरमा मेनुकाले प्रस्तुति दिने छिन् ।अप्रिलदेखि उनको विश्व टूर सुरु हुँदैछ । त्यसअघि उनले नेपाल टूरसहित केही रेकर्ड गर्ने तयारी छ ।
दुई साताअघि इण्डियन आइडलको अन्तिम १० बाट बाहिरिएकी मेनुकाले ‘सलार’बाट भारतीय फिल्ममा डेब्यु समेत गरेकी छन् । उनको फिल्म लाइनअप समेत रेडी छ ।
भारतीय रियालिटी शोले उनलाई विश्वभर चर्चा दिलायो । यसै साताको एक अन्तर्वार्तामा उनले विश्व खाने आफ्नो योजना रहेको बताएकी थिइन् ।
फागुन १८ गते काठमाडौंको क्लब प्लाटिनमा कार्यक्रम हुने आयोजकले जनाएको छ । टिकटको दर एक हजार तथा विशिष्ट टिकटको दर १५ सय रुपैयाँ राखिएको जनाइएको छ ।