Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

दयाहाङ राईको फिल्म ‘नीरफूल’


२८, जेठ २०८०
  • 127
    SHARES
  • दयाहाङ राईको फिल्म ‘नीरफूल’

    काठमाण्डौं । हराएकी पत्नीको खोजीमा हिंडेको चेन्जारोङले खोलामा नीलो फूल बगाउँछ । भगवानलाई नीलो फूल चढाउनु हुँदैन भन्दै छोरीले रोक्न खोज्छिन् । चेन्जारोङ भन्छ, ‘अब नीलो फूल चढ्ने बनाउनुपर्छ ।’ बाबु र छोरीबीचको यो संवाद फिल्म ‘नीरफूल’को बलियो ‘पञ्चलाइन’ हो । नीलो रङको फूललाई लिएर राखिएको यो शीर्षकले नेपाली समाज र राजनीतिमा गहिरो अर्थ बोक्छ ।

    निर्देशक फूलमान बलले फिल्ममा २०७२ सालको भूकम्पपछि धादिङको उत्तरी गाउँ रुबीभ्यालीको एक परिवारको त्रासदी पेश गरेका छन् । त्यो त्रासदीले उक्त परिवारलाई कसरी अलग गराउँछ र उनीहरु एक हुन कसरी संघर्ष गर्छन् भन्ने केन्द्रीय द्वन्द्व यसमा छ । उसै त भूगोलले ठगेको रुबीभ्यालीमा प्राकृतिक विपत्तिले ल्याउने यो त्रासदीको मूल्य महंगो छ । लामो समय पत्रकारितामा सक्रिय बलले डेब्यु निर्देशनमार्फत समुदायको कथालाई भन्ने प्रयत्न गरेका छन् ।

    फिल्मको कथा सरल छ । भेडी गोठालो चेन्जारोङ (दयाहाङ राई) को सुखी परिवारको जीवनमा यतिबेला बज्रपात आइलाग्छ जतिबेला भूकम्पले गाउँलाई तहसनहस बनाउँछ । भूकम्पअघि नै चेन्जारोङ मलेसिया उडिसकेको हुन्छ । भूकम्पमा उसको घर भत्किन्छ । पत्नी स्यरल्हामो (शान्ति वाइबा) र छोरी दुवै जना घाइते हुन्छन् । छोरीलाई उपचारका लागि काठमाडौं ल्याइन्छ । स्यरल्हामो छोरी खोज्न सहर आउँछिन् । छोरी खोज्ने सिलसिलामा उनले हैरानीका धेरै घुम्ती पार गर्नुपर्छ ।

    भूकम्पले अलग बनाएको यो सुखी परिवारबीच अब कहिल्यै मिलन हुन्छ कि हुँदैन रु यो खोजीको यात्रा नीरफूलको केन्द्रीय कथावस्तु हो । महाभूकम्पको आठ वर्षपछि दर्शकले ‘नीरफूल’मार्फत त्यतिबेलाको त्रासदीलाई महसुस गर्न पाउँछन् । कथा मर्मस्पर्शी र बलियो पनि छ । भूकम्पपछिको सामाजिक प्रभाव, पुनर्वास कार्यक्रम, राहत वितरण र पूर्वाधार निर्माणको तत्कालीन सन्दर्भमा फिल्मले पेश गर्ने कथा निकै गहन छ । तर फिल्म कथा मात्र होइन, यसको प्रस्तुतीकरण हो ।

    कमजोर पटकथा, सम्पादन र छायांकनजस्ता फिल्मको आधारभूत पक्षमै समस्या देखिएपछि ‘नीरफूल’ कमजोर बनेको छ । निर्देशक फूलले इमान्दारीपूर्वक प्रयत्न गरेपनि यी तीन पक्ष कमजोर हुँदा दृश्यभाषा, मनोविज्ञान र व्याकरण बलियो हुन सकेको छैन । फिल्मको स्थापनामै समस्या देखिएपछि दर्शक विषयवस्तुको गहिराइमा पुग्न सक्दैनन् । केन्द्रीय द्वन्द्व र चरित्रकरणसँग दर्शक जोडिएनन् भने फिल्मको कथा बलियो भएपनि यसले दर्शकसँग अन्तरक्रिया गर्न सक्दैन ।

    नेपाली फिल्ममा पछिल्लो समय समुदायका कथा आउन थालेका छन् । हामीले दयाहाङ राईकै अघिल्लो फिल्म जारीमा लिम्बू समुदायको कथा देख्यौं । नीरफूलले धादिङको उत्तरी भेग रुबीभ्यालीको तामाङ समुदायको कथालाई चित्रण गर्न खोजेको छ । विषयगत रुपमा यो सकारात्मक अवश्य हो । तर नीरफूलले रुबीभ्यालीको तामाङ समुदायको बाह्य पक्षलाई मात्र चित्रण खोजेको छ । दर्शकको नजरबाट हेर्दा समुदायभित्रको अन्य आयामहरु पनि आउन सक्थे ।

    पटकथा मात्र होइन सम्पादन र छायांकन पक्ष पनि धेरै ठाउँमा चिप्लिएका छन् । जसले गर्दा कथाको लयमा अवरोध पैदा भएको छ । जसले गर्दा पात्रको सफरिङ, यात्रासँग दर्शक जोडिन सक्दैनन् । मिहिन पक्षमा फिल्म चुक्दा यसले दर्शकीय संवेदनालाई छुन सकेको छैन । संवाद फिल्मको बलियो पक्ष हो । निर्देशक बलले सशक्त र बलिया संवाद पस्किएका छन् । तामाङ समुदायको आञ्चलिकतालाई उनले संवादमार्फत व्यक्त गरे पनि यो पक्षलाई छायांकन र सम्पादनजस्ता कुराले डोर्‍याउन सकेको छैन ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend