रोल्पा । परिवर्तन गाउँपालिका-१ कुरेली पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा भएको छ । प्रजनन स्वास्थ्य समन्वय समितिको आयोजनामा बिहीबार परिवर्तन गाउँपालिका-१ कुरेली स्वास्थ्य चौकीमा पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा गरिएको हो ।
प्रजनन स्वास्थ्य समन्वय समितिका संयोजक तथा परिवर्तन गाउँपालिका-१ का वडा अध्यक्ष मैते बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रममा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको प्रमुख आतिथ्यता रहेको थियो । स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख विशाल सुवेदी र परिवर्तन गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हित कुमारी बुढा मगरको विशिष्ट आतिथ्यता रहेको थियो ।
परिवर्तन गाउँपालिकाका प्रवक्ता तथा परिवर्तन गाउँपालिका-२ का वडा अध्यक्ष हरिप्रसाद बुढा मगर, परिवर्तन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक घर्ती मगर, सह-संयोजक नन्दा बुढा मगर, परिवर्तन गाउँपालिका-१ का निवर्तमान अध्यक्ष बम बहादुर पुन मगर, नेपाली कांग्रेस परिवर्तन गाउँपालिका-१ का सभापति धनप्रसाद रोका मगर, नेकपा एमाले रोल्पा जिल्ला सचिवालय सदस्य टेकेन्द्र रोका मगर, स्वास्थ्य चौकी राङ्कोटका प्रमुख अशोक विक, पाछाबाङ स्वास्थ्य चौकीका प्रमुख ज्वाला कुमारी बुढा मगर, स्वास्थ्य चौकी केवरीका अनमी सपना थापा, प्रहरी चौकी कुरेलीका प्रतिनिधि सुर्य बहादुर कार्की, स्वास्थ्य आमा समूह वडा स्तरीय अध्यक्ष जुनसरी रोका मगर, स्वास्थ्य स्वयंसेवीका अमरमाला बुढा र जनकल्याण माविका शिक्षक दिलिप बुढा मगर लगायतको आतिथ्यता रहेको थियो ।
घोषणा कार्यक्रममा स्वास्थ्य आमा समूह, स्वास्थ्य स्वयंसेवीका, विद्यार्थी, बुद्धिजीवी, व्यापारी लगायतको समेत सहभागिता रहेको थियो । कुरेली स्वास्थ्य चौकी प्रमुख तथा प्रजनन स्वास्थ्य समन्वय समितिका सदस्य सचीव शेरजंग ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रजनन स्वास्थ्य समन्वय समितिका सदस्य आशा घर्ती मगरले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
घर्तीले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ, प्रदेश स्तरीय पूर्ण संस्थागत प्रसुती सेवायुक्त स्थानीय तह वा जिल्ला घोषणा मापदण्ड निर्देशिका २०८० बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरी परिवर्तन गाउँपालिका-१ कुरेलीलाई पूर्ण संस्थागत प्रस्तुति सेवायुक्त वडा घोषणा गरिएको छ । परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा गर्न कुरेली प्रथम भएको जिकिर गर्दै निरन्तरता र दिगोपना घोषणा दिन चुनौती भएकोले कुरेली वडा त्यसलाई निरन्तरता दिनेमा समेत प्रथम हुनेमा आफू विश्वस्त भएको बताउनुभएको छ ।
घोषणा कार्यक्रमको उद्घाटन गर्दै बुढा मगरले पूर्ण सरसफाई, स्वस्थ खानेकुरा, स्वच्छ वातावरणले स्वस्थ रहन सकिने बताउनुभयो । अबको परिवर्तन गाउँपालिकामा पूर्ण सरसफाइ उन्मुख वडा, बाल विवाह, धूम्रपान तथा मद्यापानलाई नियन्त्रण गर्नु अहिलेको आवश्यकता रहेको औल्याउँनुभएको छ । कुरेली वडा जस्तै अन्य परिवर्तन गाउँपालिका सबै वडा पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा हुने र परिवर्तन गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त गाउँपालिका घोषणा गरिने बताउनुभएको छ ।
स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख विशाल सुवेदीले नेपालको संविधान २०७२ ले मौलिक हकको व्यवस्था गरेको र धारा ३५ मा स्वास्थ्य हकको व्यवस्था गरेको र धारा ३८ मा महिलाको प्रजनन स्वास्थ्य हकको अधिकारको व्यवस्था गरेको बताउनुभएको छ । भन्छन् नि बाह्र बर्षपछी खोला फर्कन्छ भनेर आज तेह्र बर्ष हुँदा कुरेलीमा खोला फर्किएको छ,सुवेदीले भने ।
म पनि घरमै जन्मेको हुँ तर अहिले कुनै पनि बालबालिका घरमा जन्मिने अवस्था छैन । जसरी आज कुरेलीलाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा गरेर रोल्पा जिल्ला र लुम्बिनी प्रदेशमा नयाँ सन्देश दिन परिवर्तन गाउँपालिका सफल भएको बताउनुभएको छ । परिवर्तन गाउँपालिकाले गरेको स्वास्थ्य क्षेत्रमा गरेको लगानी खेर न गई उपलब्धी मुलक भएको बताउनुभएको छ । कुरेली स्वास्थ्य चौकी नमूना स्वास्थ्य चौकी भएको बताउदैँ, कुरेलीमा कुनै पनि सुत्केरी घरमा नभएको तथ्यांक आफूले पाएको र पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा निर्देशिका २०८० मा गरिएको सबै मापदण्डअनुसार प्रक्रिया पुरा गरी घोषणा गर्न सफल भएको बताउनुभएको छ ।
परिवर्तन गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हित कुमारी बुढा मगरले पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा गर्नु ठूलो कुरा नभएर दिगोपना वडा घोषणा गर्नु अहिलेको आवश्यकता रहेको र दुर्गम बस्तीमा रहेको पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा हुनुपनी महत्त्वपूर्ण उपलब्धी भएको बताउनुभएको छ । परिवर्तन गाउँपालिकाका प्रवक्ता तथा परिवर्तन गाउँपालिका-२ का वडा अध्यक्ष हरिप्रसाद बुढा मगरले स्वास्थ्यकर्मीको निरन्तर प्रयास र विभिन्न राजनीतिक दलको समन्वय तथा जनप्रतिनिधिहरुको सहयोगले गर्दा आज पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा गर्न सफल भएको बताउनुभएको छ ।
परिवर्तन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक घर्ती मगरले क्रमिक रूपमा परिवर्तन गाउँपालिकाका सबै वडा पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा हुने बताउनुभएको छ । परिवर्तन गाउँपालिका-१ का निवर्तमान वडा अध्यक्ष बम बहादुर पुन मगरले सबैको समन्वय, सहकार्य र सहयोगले गर्दा आज घोषणा गर्न सफल भएको बताउनुभएको छ । नेपाली कांग्रेस परिवर्तन गाउँपालिका-१ का वडा सभापति धनप्रसाद रोका मगरले घोषणा हुनु सबैको लागि राम्रो पक्ष भएको बताउनुभएको छ ।
नेकपा एमाले रोल्पा जिल्ला सचिवालय सदस्य टेकेन्द्र रोका मगरले कुनै पनि सुत्केरी घरमा नभएर स्वास्थ्य चौकीमा प्रसुती भएको बताउनुभएको छ । राङ्कोट स्वास्थ्य चौकीका प्रमुख अशोक विकले परिवर्तन गाउँपालिकाको सबै वडामा पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा हुने बताउनुभएको छ ।
कार्यक्रममा महिला स्वयंसेवीका, स्वास्थ्य आमा समूहका अध्यक्ष, स्वास्थ्यकर्मी, कार्यालय सहयोगी, स्वास्थ्य चौकीलाई सहयोग गर्ने व्यक्ति र रोल्पा समाज जापान परिवारलाई समेत सम्मान पत्रले सम्मान समेत गरेको थियो । कार्यक्रमको सञ्चालन कुरेली स्वास्थ्य चौकीका ल्याव असिस्टेन्ट प्रवीण कुमार बुढा मगरले गर्नुभएको थियो ।


