बुटवल । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रुपन्देहीले बुटवलमा बिहिबार आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको केही दिनभित्रै विषय विज्ञ शिक्षकहरुबाट मुख्य विषयहरुको अनलाईन कक्षा निशुल्क संचालन गर्ने बताएका छन ।
दक्ष शिक्षकहरु नहुँदा धेरै विद्यार्थीहरु एसइई परीक्षामा फेल भएको उल्लेख गर्दै ओलीले विज्ञ शिक्षकहरुबाट मुख्य मुख्य विषयहरुको निशुल्क अनलाईन कक्षा संचालन गरिने बताएका हुन ।
उनले शिक्षकहरुमा आफुभित्र भएको ज्ञान समेत प्रदान गर्ने सिप नहुँदा धेरै विद्यार्थीहरु फेल भएको बताए । ‘अब शिक्षकहरुमा भएको ज्ञानलाई विद्यार्थीले बुझ्ने गरी प्रदान गर्ने सिप बढाउनुपर्छ,’ उनले भने ।
‘मुख्यगरी अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा धेरै विद्यार्थीहरु एसईई परीक्षामा अनुत्तीर्ण भएकाले अहिले अनुत्तिर्ण भएपनि पुरक परिक्षामा पास बनाउने गरी हामीले निशुल्क अनलाईन कक्षा संचालन गर्दै छौं त्यसमा जोडिन सबैलाई ओलीले आग्रह गरेका छन ।
साथै मौका परीक्षा आउन एक महिना समय बाँकी रहेकाले राम्रो तयारी गरेर पास हुने गरी परिक्षा दिन उनले आग्रह गरे । २०८० चैत्र १५ गतेदेखि संचालन भएको एसइई परीक्षामा ननग्रेडमा परेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरुका लागि राष्ट्रिय परीक्षा बोर्डले साउन २३ गतेदेखि २९ गतेसम्म पुरक परिक्षा तोकेको छ ।
अनेरास्ववियूले एसइई परीक्षामा जिपिए ४ ल्याएर उत्तीर्ण भएका रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ स्थित रामापुर माध्यमिक विद्यालयका विद्यार्थी कृत्रिम भट्टराई र बुटवलको न्यू होराइजन बोर्डिङ स्कुलका प्रवेश खनालसँगै रुपन्देहीका सामुदायिक विद्यालयबाट ए प्लस ल्याएर उत्तिर्ण भएका एक हजार २२८ जना विद्यार्थीलाई सम्मान गरेको हो ।