काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा नाम, थर र जन्ममिति सच्याउन परेमा अबको ६ महिनाभित्रै सच्याउन आग्रह गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले प्रमाण पत्रमा नाम, थर र जन्ममिति सच्याउन परेमा अबको ६ महिनाभित्रै सच्याउन सकिने जानकारी दिएका हुन् ।
शर्माले यदि कसैको सच्याउन पर्ने भए सम्बन्धित प्रमुख जिल्ला अधिकारीको फैसला पर्चा र सिफारिस लिएर आउन आग्रह गरे । उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार नागरिकता प्रमाणपत्रमा उमेर, नाम र जात संशोधन गर्न सीडीओले संशोधन गर्नुको आधारहरू समेत उल्लेख गरेर संशोधन भएको थर ठहर्ने गरी निर्णय गरेको भन्ने फैसला पर्चा खडा गरी नियमावली अनुसार परीक्षा नियन्त्रण कार्यालयलाई थर सच्याउनको लागि सिफारिस गर्नुपर्ने बोर्डले जनाएको छ ।
‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार विद्यार्थीले प्रमाण पत्र पाएको ६ महिनाभित्र प्रमुख जिल्ला अधिकारी (सीडीओ) समक्ष निवेदन दिनुपर्ने बताउदै प्राप्त निवेदन अनुसार प्रमुख जिल्ला अधिकारीले फैसला पर्चा र सिफारिस गरेको आधारमा मात्रै बोर्डले नाम, थर र जन्ममिति सच्याउन मिल्ने अध्यक्ष शर्माले बताए ।