गुल्मी । उच्च शिक्षामा विधार्थीलाई आकर्षित गर्ने उदेश्यले गुल्मीको रेसुङ्गा नगरपालिकाले स्नातक तह प्रथम वर्षमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क भर्ना गर्ने भएको छ ।
रेसुङ्गा नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले रेसुङ्गा बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क भर्ना गर्ने जानकारी दिनुभएको हो ।
आइतबार नगर कार्यपालिको बैठकपछी आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख पन्थीले रेसुङ्गा बहुमुखी क्याम्पसमा विद्यार्थीहरूको सङ्ख्या वृद्धि गर्ने उदेश्यले अहिलेलाई जिल्लास्थित उद्योगी,व्यवसायीहरूको सहभागीतामा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क भर्ना गरिने निर्णय गरिएको बताउनुभयो ।
गुणस्तरीय शिक्षा प्रदान हिसाबले देशकै नमुना क्याम्पस मध्ये एक रहेको रेसुंगा बहुमुखी क्याम्पसमा बसाइ सराइ र बैदेशिक अध्ययनमा जाने विधार्थीको संख्या बढ्दै गएपछि केहि वर्ष यता यस क्याम्पसमा भर्ना हुने विधार्थीको संख्या घट्दै गएको छ ।
यस जिल्लाको समुन्नतिको ढोका खोल्न स्वास्थ्य,शिक्षाको क्षेत्रमा काम गर्नुपर्छ भन्ने ध्येयका साथ आफूहरूले काम गरेको भन्दै उहाँले पछिल्लो समयमा विभिन्न कारणले यस क्याम्पसमा विद्यार्थीहरूको सङ्ख्या न्यून हुँदै गएको देखिएकाले नगरपालिकाले निःशुल्क भर्ना अभियान सुरु गरिएको बताउनुभयो ।
आफ्नो टिम नगरपालिकामा निर्वाचित भएर आएसँगै रेसुङ्गा बहुमुखी क्याम्पसलाई अनुदान स्वरूप एक करोड रुपियाँ सहयोग गर्ने घोषणा गरे बमोजिम पहिलो किस्ता पचास लाख रुपियाँ क्याम्पसलाई हस्तान्तरण गरिसकेको र बाँकी पचास लाख रुपियाँ अनुदान पनि छिट्टै क्याम्पसलाई उपलब्ध गराउने जानकारी नगरप्रमुख पन्थीले दिनुभयो ।
नगरपालिकाले ३ सय नयाँ विद्यार्थीलाई स्नातक तह प्रथम वर्षमा निःशुल्क भर्ना गर्ने लक्ष्यका साथ् यो अभियान सुरु गरेको छ । विद्यार्थीहरूको सङ्ख्या वृद्धि भए क्याम्पसको अधिकांश समस्या समाधान हुने भन्दै नगरप्रमुख पन्थीले आर्थिक अभावमा कोही पनि विद्यार्थी उच्च शिक्षा हासिल गर्नबाट वञ्चित हुन नपरोस् भन्ने ध्येय रहेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख हरिबहादुर खत्रीले विद्यार्थी सङ्ख्या क्रमिक रूपमा घट्दै जान थालेको भन्दै नगरपालिकाले गरेको सहयोगले नयाँ आशा थपिएको बताउनुभयो ।
क्याम्पस प्रमुख खत्रीले सामुदायिक क्याम्पसहरूलाई राज्य तहबाट सहयोग नभएकाले पहाडी क्षेत्रका क्याम्पस सञ्चालनमा समस्या आएको बताउदै सामुदायिक क्याम्पसहरूलाई दिगो रुपमा संचालनका लागि राज्य र समुदायबाट नीतिगत रुपमै सहयोगका लागि आग्रह गर्नुभयो ।