बुटवल । बुटवल उपमहानगरपालिका र बेलायती सरकारको राष्ट्रिय स्वास्थ्य प्रणाली र बेलायती राजदुतावासको टीमबीच बुटवलको शिक्षा र स्वास्थ्यका बारेमा छलफल भएको छ ।
बुधबार बुटवल उपमहानगरपालिकामा भएको छलफलमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको स्वास्थ्य र शिक्षाको अवस्थाका बारेमा जानकारी गराएका थिए । उनले बुटवलले शहरी स्वास्थ्य केन्द्र र २ वटा अस्पतालमार्फत वडास्तरमा सेवा दिइरहेको र त्यस्ता केन्द्रहरुको सुविधामा सुधार ल्याउन चाहेको बताए ।
हामीले १९ वटै वडालाई सेवा पुग्ने गरी शहरी स्वास्थ्य केन्द्र र अस्पतालहरु सञ्चालन गरेका छौं, यसबाहेक जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण, महिलाहरुको स्तन र पाठेघरको क्यान्सरको स्क्रिनिङ शिविर, गर्भवतीको नियमित स्वास्थ्य परीक्षण र शिविरहरु सञ्चालन गरिरहेका छौं, उनले भने,मातृ स्वास्थ्य र शिशु स्वास्थ्यलाई अझ प्रभावकारी बनाउने र नागरिकको घरदैलोमा स्तरीय सेवा पुर्याउने गरी काम गर्न खोजिरहेका छौं, यसका लागि आवश्यक उपकरणहरु, जनशक्ति र केही पूर्वाधारमा विकास साझेदारहरुसँग सहकार्य गर्न चाहन्छौं।
भेटका क्रममा बेलायत सरकारको राष्ट्रिय स्वास्थ्य प्रणालीका प्रतिनिधि र बेलायती राजदुतावास काठमाडौंका प्रतिनिधिले बुटवल उपमहानगरपालिकासँग सहकार्य गर्न इच्छुक रहेको बताए । उनीहरुले बुटवलको शहरी स्वास्थ्य अवस्थालाई सुधार गर्ने र घरदैलोमा स्वास्थ्य सुविधा पुर्याउने योजना राम्रो रहेको बताएका थिए ।
भेटमा बेलायत सरकारको नेशनल हेल्थ सिस्टम फर ग्लोबलका प्रतिनिधिहरु केशले एलिजावेथ म्याकवाट, लुइस अमान्डा पार्क र पारु पटेल तथा बेलायती दुतावासका डिएगो मरोसो, डा.दीपक कार्की र सगुन पौडेल तथा बुटवल उपमहानगरपालिकाका तर्फबाट नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल, आर्थिक विकास महाशाखा प्रमुख तुल्सा अर्याल र स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेको सहभागिता रहेको थियो ।
बेलायतले नेपालको स्वास्थ्य, शिक्षा र विपत् व्यवस्थापनका क्षेत्रमा खर्च हुने गरी नेपाललाई दिने १३ अर्ब रुपैयाँ अनुदान सहायतामध्ये बुटवलको स्वास्थ्य क्षेत्रमा समेत खर्च गर्ने योजनाअनुसार बेलायती टोलीले छलफल गरेको हो । नेपाल सरकारले बेलायतबाट प्राप्त हुने अनुदान सहायतासम्बन्धी समझदारीपत्रलाई स्वीकृत गरिसकेको छ ।
मन्त्रिपरिषद्को बैठकले ‘समर्थम इन्ह्यान्सिङ जेन्डर एन्ड ह्युमन डेभलपमेन्ट आउटकम्स थ्रो सिस्टम स्ट्रेन्थेन’ नामक कार्यक्रमका लागि प्राप्त हुने ३८.८ मिलियन पाउन्ड स्टर्लिङ (करिब ६ अर्ब ५८ करोड रुपैयाँ) अनुदान सहायता समझदारीपत्र स्वीकृत गर्ने निर्णय गरिसकेको छ ।
गत ९ फागुनमा नेपाल भ्रमणमा आएका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल र विकास कार्यालयका मन्त्री एन्ड्रयु मिचेलले बेलायत–नेपाल विकास पोर्टफोलियो उद्घाटन गर्दै नेपाललाई सहायता गर्ने घोषणा गरेका थिए । सो क्रममा बुटवल आएका मन्त्री मिचेलले नगर प्रमुख पाण्डेयसँग भेटेर बुटवलको स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने जनाएका थिए ।
सन् २०३० भित्र सम्झौता कार्यान्वयन हुँदा करिब साढे १३ हजार जनाका लागि रोजगारी सिर्जना हुने विश्वास लिइएको छ । परियोजना कार्यान्वयनमा आइसक्दा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा २० लाख महिला र किशोरीको पहुँच पुग्ने अपेक्षा गरिएको छ ।