गुल्मी । विगत केही बर्ष यता गुल्मी जिल्लाको पवित्र धार्मिक एवं पर्यटकीय स्थल रेसुंगा र मदाने वन क्षेत्रमा विभिन्न प्रजातिका चराहरुको बसोबास बढ्दै गएको छ ।
पन्छी अनुसन्धान र संरक्षणको क्षेत्रमा कार्य गर्दै आइरहेको संस्था नेपाल पन्छी संरक्षण संघ गुल्मीले गरेको सर्वेक्षणका क्रममा गुल्मी जिल्लाको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा सात नयाँ प्रजातिका चराहरु भेटिएका हुन ।
नेपाल पन्छी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले दिएको जानकारी अनुसार १९ हजार २ सय ८१ दशमलव ६५ हेक्टर क्षेत्रफलमा फैलिएको रेसुङ्गा वन संरक्षण क्षेत्रमा हालै मात्र सानो सेतो बकुल्ला प्रजातिको नयाँ चरा भेटिएको छ ।
हाल यस रेसुङ्गा वन संरक्षण क्षेत्रमा २ सय ६३ प्रजातिका चराहरु रहेको नेपाल पन्छी संघ गुल्मीका परियोजना संयोजक पन्थीले जानकारी दिनुभयो । १३ हजार ७ सय ६१ हेक्टर क्षेत्रफलमा फैलिएको मदाने वन संरक्षण क्षेत्रमा छ प्रजातिका नयाँ चरा भेटिएका छन् ।
२ सय ८६ प्रजातिका चरा भेटिएको मदाने वन संरक्षण क्षेत्रमा अहिले चाकासूचक, कालोकण्ठे भुइँरोविन, श्यामश्वेत अर्जुन, कालो बुङ्गेचरी, आली चुइँया र हिमाली लेकचरी प्रजातिका नयाँ चरा भेटिएका हुन । नेपाल सरकारले २०६८ सालमा मदाने र २०७३ सालमा रेसुङ्गा क्षेत्रलाई वन संरक्षण क्षेत्र घोषणा गरेको थियो ।
नेपाल पन्छी संरक्षण सङ्घ गुल्मीले यस क्षेत्रमा रहेका चराका प्रजातिको अनुसन्धान तथा गणना प्रत्येक वर्षको मार्च र नोभेम्बर महिनामा गर्दै आएको जनाएको छ ।
नेपालमा पाइने ८ सय ९२ प्रजातिका चरामध्ये ३५ प्रतिशत प्रजातिका चराको बसोवास रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा पाइन्छ ।
यस क्षेत्रमा बर्सेनि चराको सङ्ख्या बढ्दै गएको र विश्वकै दुर्लभ छ प्रजातिका चरा समेत गरि अहिले ३ सय ५ प्रजातिका चरा पाइने गरिएको दाबी गरिएको छ ।
जसमा रेसुङ्गा वन संरक्षण क्षेत्रमा चिर, रणमत्त महाचिल, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचिल, डङ्गर गिद्ध छन् ।मदाने वन संरक्षण क्षेत्रमा चिर, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचिल पाइने गरेका छन् ।
नेपालमा मात्र पाइने काँडेभ्याकुर पनि यी दुवै वन संरक्षण क्षेत्र पाइन्छ । रेसुङ्गामा ५६ र मदानेमा ६१ परिवारमा पर्ने चरा पाइन्छन् ।
रेसुङ्गा क्षेत्रमा एक र मदाने क्षेत्रमा तीन प्रजातिका संरक्षित चराहरू पाइने गरेका छन् । राष्ट्रियस्तरमा खतरामा परेका रेसुङ्गा वन क्षेत्रमा १५ र मदाने वन क्षेत्रमा १३ प्रजातिका चराहरु रहेको संघले जनाएको छ ।
यस क्षेत्रमा बेला बेलामा हुने आगलागी, चोरीसिकारी, बढ्दो रासायनिक पदार्थको प्रयोग, अव्यवस्थित ग्रामीण सडक जस्ता समस्याले दुर्लभ चराहरुको संरक्षणका लागि चुनौती थपिदै गएको र यी क्षेत्रहरु दुर्लभ प्रजातिका चराहरुको बसोवासका लागि उपयुक्त वासस्थान भएकोले चुनौतीलाई कम गर्दै सहज वातावरण तयार गर्नका लागि सरोकारवाला सबै निकायबिच समन्वय गरेर अघि बढ्नुपर्ने कुरामा परियोजना संयोजक पन्थीले जोड दिनुभयो ।