काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमती कार्य योजना प्रकृतिमैत्री रुपमा अघि बढाउने बताउनुभएको छ । मंगलबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नगर प्रमुख एवं उपप्रमुहरुसँग प्रस्तावित बागमती कार्ययोजनामाथी छलफल कार्यक्रममा बोल्नुहुँदै अबका योजनाअनुसार प्रकृतिमैत्री रुपमा अघि बढाउनुपर्ने बताउनुभएको हो ।
‘बाग्मती कार्ययोजना टुटेको थियो । फेरि यसलाई निरन्तरा दिएका छौं । बाग्मती कार्ययोजना प्रकृतिमैत्री रुपमा अगाडी बढाउँछौं,प्रकृतिमैत्री प्रविधिको उपयोग गर्नुपर्छ,’ उहाँले भन्नुभयो,‘यहाँको वातावरण सहुाउनेगरि योजना अघि बढाउँछौं । कार्ययोजनामा छलफलमा आएका सुझावहरु समेटेर, सरोकारवालाहरुसँग छलफल गरेर अन्तिम रुप दिन्छौं ।’ उहाँले छलफलमा उपत्यकाका नगर प्रमुख र उपप्रमुखबाट महत्वपूर्ण सुझावहरु आएको पनि बताउनुभयो ।
बागमती कार्ययोजनाले बागमती नदि प्रणालीमा रहेका १७ वटा अरु नदिको समेत अध्ययन गरि प्राकृतिक संरक्षण क्षेत्र,ग्रामीण क्षेत्र,उपशहरी क्षेत्र,शहरी क्षेत्र र तल्लो क्षेत्र गरि ५ भागमा वर्गिकरण गरेर अध्ययन गर्नेछ । २० वर्षे कार्ययोजनाको लागत अनुमान २ खर्ब २५ अर्ब ३१ करोड १६ लाख रहेको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
शहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता योजनाले बागमती कार्ययोजना २०२४-४४ माथी छलफल आयोजना गरेको हो । छलफलमा काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष एवम् ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले कार्ययोजना सकारात्मक रहेको भन्दै हरियाली जोगाउने गरि प्रकृतिमैत्री रुपमा योजना अघि बढाउनुपर्ने बताउनुभयो ।