Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

जाडोले दुई सय बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय जान छाडे


५, माघ २०८१
  • 142
    SHARES
  • जाडोले दुई सय बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय जान छाडे

    जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका दुई सय बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय गएका छैनन् ।


    मझौरा गाउँ प्रवेश गरेसँगै दाहिनेतर्फ ७५ घर मुसहर समुदायका छन् । यहाँका २०० बढी बालबालिका गत मङ्सिर महिना सुरू भएदेखि नै विद्यालय जान छाडेका छन् । मुसहरी ९मुसहर बस्ने० टोलभन्दा केवल तीन सय मिटर दूरीमा रहेको श्री माध्यमिक विद्यालय मझौरामा बाल कक्षादेखि विभिन्न कक्षामा पढ्दै आएका मुसहरका बालबालिकाले मङ्सिर र पुस महिना एक दिन पनि विद्यालय टेकेनन् । 


    स्थानीय मुसहर अगुवा अघनु सदाका अनुसार गरिब र विपन्न यस बस्तीका बालबालिका जाडोकै कारण दुई महिनादेखि विद्यालय नगएका हुन् । स्थानीय ६० वर्षीया सुनैनादेवी सदाले बालबालिकाको जीउमा पर्याप्त न्यानो लुगाफाटा नभएको, खानेकुराको अभाव र जीउ न्यानो बनाउन आगोसमेत अभाव भएको बताइन् । जाडो महिना सुरू भएदेखि नै उनीहरू विद्यालय नगएको सोही ठाउँकी ६५ वर्षीया महिला बासोदेवी सदाले बताइन् ।
        
    खर, पराल र पात पतिङ्गर सोहोरेर जेनतेन खाना पकाएर खाइरहेका मुसहरलाई जाडोको महिना निक्कै कष्टकर हुने गरेको भन्दै स्थानीय ७२ वर्षीया कोशिलादेवी सदाले घर बाहिर गएमा स्वास्थ्य बिग्रने डरले बालिबालिकालाई विद्यालय जानबाट रोकेको पीडा सुनाइन् ।
        
    चाँडैतिर झिक्राझिक्री र खरपातले बनाएको घर, छाना चुहिने, शीत र ओस आउने ह्वाङ्ग र त्यसमै एक अर्कासँग टाँसिएर बसेका मुसहरका बालबालिका जाडो छल्नकै लागि विद्यालय नगएका हुन् । 

    नबस्ने घर, न खाने अन्न र त्यसमाथि कठ्याङ्ग्रिँदो जाडोले उनीहरूको रोजगारी पनि बन्द भएको छ । उनीहरूलाई परिवार पाल्न निक्कै कठिनाइ भएको छ । त्यसमाथि बालबालिकाको पठनपाठन झन बोझझैँ भएको छ । 


    स्थानीय ५४ वर्षीय रामसेवक सदाले जाडोको बेला कामकाज गर्न नसकिने, पैसाको अभाव हुने र लुगाफाटोको समस्या रहेको कारण यस बस्तीमा राम्ररी खानपान पनि पुर्‍याउन सबैलाई हम्मेहम्मे भएको बताए । बालबालिकाहरूलाई कठ्याङ्ग्रिँदो जाडोमा घुर ताप्न लगाएर ज्यान जोगाउने गरेको उनले सुनाए । 

    यस बस्तीमा जाडोयाममा सबैलाई न्यानो लुगाफाटा, पोषिलो खानपिन र चिसो हावा छल्ने घरको अभाव बर्सेनि हुने गरेको स्थानीय ३९ वर्षीय वीरेन्द्र सदाले बताए । उनले यस्तो अभावको बेला आफूहरूलाई कसैले कहीँबाट कुनै सहयोग नगरेपछि झन बढी समस्या भएको दुखेसो पोखे ।
        
    बस्ती नजिकै अर्को टोलमा घर रहेको वडाध्यक्ष अब्दुल गफार राईनलाई मुसहरी बस्तीको बासिन्दाको पीडाबारे सोध्दा उनले आफू पनि मुसहरको पीडासँग पीडित रहेको बताए । तर, उनीहरूको समस्याको निदान आफ्नो हैसियतले गर्न नसकिने वडाध्यक्ष राईनले बताए । 

    वडाध्यक्ष राईनले मुसहरी बस्तीमा घर निर्माणको योजना पनि अगाडि सार्न खोज्दा त्यहाँ मुसहरसँग जग्गा अभाव रहेको, सबैसँग पर्याप्त जग्गा नरहेको कारण बाहिरी सहयोगले बनाइने एकै खालको घरको परियोजना चाहेर पनि लागू गर्न नसकिएको बताए।
        
    मुसहर बस्तीका दुई सय बढी बालबालिका विद्यालय नगइरहेको सबालमा वडाध्यक्ष राईनले आफूले विद्यालय पठाउन मात्रै आग्रह गर्ने बताए । तर उनीहरूको बालबालिकाहरूको अभावलाई पूरा गर्नसक्ने अवस्था नरहेको कारण जबर्जस्ती गर्न नसकिने बताए । 

    पुस र माघ महिनाको चिसो स्याँठले निम्त्याएको  जाडोबाट बच्न गत साता यस बस्तीमा नेपाली सेनाले प्रतिपरिवार एक एक थान कम्बल बाँडेको सुनाउँदै बस्तीकी ७२ वर्षीया कोशिलादेवी सदाले यो सहयोग अपुग र अपर्याप्त रहेको बताइन् । उनले दाताले प्रतिपरिवार नभएर आवश्यक भएका सबैलाई दिनुपर्ने धारणा राखिन् । उनले एउटा कम्बल बूढापाखा राख्ने कि महिलाले ओढ्ने कि बालबालिकालाई दिने भनी प्रतिप्रश्न गरिन् । 
        
    यस मुसहर बस्तीमा अहिले बूढापाखा ठाउँठाउँमा खर, पराल र पातपतिङ्गर ल्याएर ठूलठूला घुर बालेर आगो ताप्दै दिन बिताउने गरेको देख्न सकिन्छ भने महिला तथा बालबालिका घरभित्र आगो बालेर आगोकै वरिपरि बसिरहेको देख्न सकिन्छ । 

    यस्तो अवस्थामा त्यस बस्तीका बालबालिकालाई ज्यान जोगाउनु नै मुस्किल छ । यस बस्तीका मुसहरहरू देशमा तीन तहको सरकार आएको र सङ्घीयताले देश विकासको दिशा लिइरहेको बेला आफूहरूले सङ्घीयता र लोकतन्त्रको अलि कति पनि अनुभूति गर्न नसकेको बताउँछन् । -रासस

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend