गुल्मी । रोटरी क्लब अफ रेसुंगा गुल्मीको आयोजनामा गुल्मीको सदरमुकाम तम्घासमा शनिवार सम्पन्न निःशुल्क बृहत स्वास्थ्य शिविरबाट ५ सय ३२ जनाले सेवा लिएका छन ।
रोटरी क्लब अफ रेसुङ्गा गुल्मीको आयोजना र गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविर संचालन गरिएको थियो ।
तम्घासस्थित महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन भएको शिविरमा इको सेवा २ सय ९६ जना, इसिजी सेवा २ सय ४ जना र ल्याब परीक्षण तथा अन्य विभिन्न परामर्श सेवा १ सय ४६ जनाले गरेको रोटरी क्लब अफ रेसुङ्गा गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठले बताए ।
अध्यक्ष श्रेष्ठका अनुसार शिविरमा विशेषज्ञ चिकित्सकबाट मुटुरोग, मिर्गौला छातिरोगसहित अन्य रोगहरुको जाँच,उपचार,परामर्श सेवा र जनरल फिजिसियन चिकित्सकबाट सबै प्रकारका रोगहरुको चेकजाँच गरि जाँच अनुसारका औषधीहरु निःशुल्क वितरण गरिएको थियो ।
शिविर शुभारम्भ कार्यक्रममा बोल्दै रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले स्वास्थ्य नै जीवनको प्रमुख आधार भएकाले सबैले स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने बताए ।
जनताको स्वास्थ्यप्रति राज्यका सबै तह संवेदनशील रहन जरुरी रहेको भन्दै उनले हरेक नागरिकले आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्ने बताए ।
स्वास्थ्य क्षेत्र निकै संवेदनशील भएको हुँदा जनताको स्वास्थ्यका लागि यस्ता खालका स्वास्थ्य शिविरले महत्वपूर्ण भूमिका खेल्ने प्रमुख पन्थीले बताए ।
शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.विशाल केसी, डा.अभिषेक शाक्य, डा.जितप्रसाद घिमिरे र जनरल फिजिसियन डा.मिलन पोख्रेलसहितको ५५ जनाको टोलिले उक्त निःशुल्क बृहत स्वास्थ्य शिविरमा विशेषज्ञ सेवा प्रदान गरेका थिए ।
रेसुङ्गा नगरपालिका, गुल्मीदरबार गाउँपालिका, इस्मा गाउँपालिका, छत्रदेव गाउँपालिका, धुर्कोट गाउँपालिका, मालिका गाउँपालिका र नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मी, नविल बैंक, एनएमबी बैंक, नेपाल बैंक लिमिटेड, नेपाल एसबिआइ बैंक, एनआइएमबी बैंकको सहयोग रहेको शिविरमा गुल्मी तथा छिमेकी जिल्ला अर्घाखाँचीका नागरिकहरुले समेत सेवा लिएका थिए ।