बाँके । लुम्बिनी प्रदेशका १२ जिल्लाहरूमध्ये सबैभन्दा बढी बाँकेमा १०१.२ प्रतिशतलाई पाठेघर मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाएर प्रदेशमै पहिलो जिल्ला बन्न सफल भएको छ ।
सरकारको लक्षित वर्ग र उपलब्धिको आधारमा लुम्बिनी प्रदेशका जिल्लाहरू मध्ये सबैभन्दा बढी बाँकेमा १०१.२ प्रतिशतले खोप लगाएर प्रथम बनेको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
उनले गत माघ २२ देखि फागुन १९ गतेसम्म चलेको सो खोप अभियानमा बाँकेका ३३ हजार ३७५ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेकोमा ३३ हजार ७५९ जना किशोरीले खोप लगाएको बताए ।
बाँकेमा लक्ष्यभन्दा १.२ प्रतिशतभन्दा बढीलाई एचपीभि खोप लगाएर यो जिल्ला प्रदेशमै सबैभन्दा अगाडि रहेको फोकल पर्सन श्रेष्ठले बताए । उनले जिल्लामा यस पटक मुस्लिम समदाय र मधेशी समुदायका बालिकाहरुले सबैभन्दा बढी उत्साहित भएर खोप लगाएकाले लक्ष्य पार गर्न सफलता मिलेको बताए ।
बाँकेको राप्ती सोनारीमा तीन हजार १४१, कोहलपुरमा छ हजार दुई सय, बैजनाथमा तीन हजार ८३३, खजुरामा पाँच हजार एक सय, जानकी गाउँपालिकामा दुई हजार १७०, नेपालगन्जमा आठ हजार पाँच सय, डुडुवामा दुई हजार ३१० र नरैनापुरमा दुई हजार ५०५ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयका बाँकेका प्रमुख सुनिता पौडेलले जानकारी दिए ।
उनले खोपको उपलब्धिका आधारमा बाँकेको स्थानीय तहहरूमध्ये खजुरामा १५६.८, नेपालगन्जमा १०२।९, नरैनापुरमा १००.६, डुडुवामा ९९.२, राप्ती सोनारीमा ९७.८, बैजनाथमा ९६.६, जानकीमा ९०.२ र कोहलपुरमा ८३.१ प्रतिशतले खोप लगाएको बताए ।
नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको हालसम्मकै सबैभन्दा ठुलो अभियान यही रहेको जनाउँदै प्रमुख पौडेलले नेपालमा पाठेघरको क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये पहिलो र समग्र क्यान्सरका प्रकारमध्ये फोक्सोपछि दोस्रो स्थानमा रहेको बताए ।
उनका अनुसार नेपालमा औसत हरेक दिन छ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ ।
चिकित्सकका अनुसार नौ देखि १४ वर्षको उमेर भ्याक्सिन लगाउने उपयुक्त उमेर हो । किनकि यो उमेरमा बालिका यौनजन्य क्रियाकलापमा सक्रिय भएका हुँदैनन् । सानो उमेरमा लगाएको भ्याक्सिन बढी प्रभावकारी हुन्छ ।
स्वास्थ्य कार्यालयका अनुसार एचपीभी भाइरससँग सम्पर्कमा आउनुअघि नै खोप पाउन सके त्यसले राम्रो परिणाम दिन्छ । किनभने खोपले सङ्क्रमण हुनबाट बचाउँछ । तर शरीरमा पहिला नै भाइरस बसिसकेको भए सङ्क्रमणमुक्त भने बनाउन सक्दैन ।