काठमाण्डौ – पछिल्ला हप्ताहरुमा काठमाण्डौमा रहेका अस्पतालहरुमा उपचारका लागि पुग्ने मध्ये दम, खोकी र श्वासप्रश्वासका बिरामी धेरै रहेका छन् । मंसिर लागेयता यस्ता विरामीको संख्या बढिरहेको त्रिवी शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ छाती रोग विशेषज्ञ डा निरज बमले बताउनुभयो ।
केही दिनदेखि काठमाण्डौमा वायु प्रदूषण बढेको छ । तुवाँलो समेत लाग्दा घाम मधुरो भएर चिसो बढेको छ । यसैको असरले दम, खोकी, श्वासप्रश्वास लगायतका विरामी बढेका उहाँको भनाइ छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले अधिकतम र न्यूनतम दुवै तापक्रम घटिरहेको छ ।
यस्तै वायु प्रदूषण बढेर काठमाण्डौ उपत्यकाका सबैजसो मापन केन्द्रहरुमा प्रदूषण मापन सूचक एक्यूआई एक सय ५० आसपास वा त्यो भन्दा बढी पुगेको छ । प्रदूषण र चिसो मिसिएको समयमा धूँवा धूलोमा टाँसिएर इन्फ्लूएन्जा, राइनो, डडिनोजस्ता भाइरसहरूको सङ्क्रमण बढ्ने डाक्टर बमले बताउनुभयो । यसबाट बिशेषगरी १० वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका जेष्ठ नागरिकहरूलाई बढी समस्या पर्छ ।
रोग प्रतिरोधी क्षमता कमजोर भएका बिरामीहरू थप जोखिममा पर्छन् । यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकालेर चिसोसँगै इन्फ्लुएन्जा (फ्लू) को संक्रमण बढ्ने भन्दै बच्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले चिसो र प्रदूषण बढेका बेला शारीरिक रुपमा सक्रिय हुन र प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खान सुझाव दिनुभयो ।
संक्रमितबाट टाढा रहन, चिसोबाट जोगिन र समस्या देखिएका स्वास्थ्यकर्मीलाई देखाउन उहाँको सुझाव छ । इन्फ्लुएन्जा (फ्लू) का मुख्य लक्षणहरुमा ज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्नु र घाँटी दुख्नु, नाक बन्द हुनु वा सिँगान बग्नु, जिउ र मांसपेशी दुख्नु, थकान महसुस हुनु रहेका छन् ।
