काठमाडौँ। लर्निङ् रियल्म इन्टरनेशनल (LRI) ले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा विद्यालय परिसरभित्र स्थापना गरिएको “बाल संसद” को नमुना सत्र भव्य रूपमा सम्पन्न गरेको छ।
विद्यालयका अनुसार नेपालमै विद्यालयस्तरमा नियमित रूपमा सञ्चालन हुने यस्तो नमुना संसद अभ्यास LRI मा मात्र सञ्चालन हुँदै आएको छ। विद्यार्थीहरूलाई नेतृत्व विकास, संसदीय प्रक्रिया, तर्क–वितर्क क्षमता, निर्णय प्रक्रिया तथा लोकतान्त्रिक मूल्य–मान्यताबारे व्यवहारिक अनुभव दिलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालय प्रशासनले जनाएको छ।
नमुना सत्रमा विद्यार्थीहरूले सभामुख, प्रधानमन्त्री, मन्त्री तथा प्रतिपक्षको भूमिकामा रहेर संसद सञ्चालन गरेका थिए। कार्यक्रमको उद्घाटन संघीय संसदका पूर्व महासचिव भरतराज गौतमले गर्नुभएको थियो।
उहाँले संसद सञ्चालन प्रक्रिया, लोकतान्त्रिक अभ्यासको महत्व तथा युवापुस्ताको भूमिकाबारे प्रकाश पार्दै यस्ता अभ्यासले भविष्यका सक्षम र जिम्मेवार नेतृत्व निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। विद्यार्थीहरूको प्रस्तुति र अनुशासनको प्रशंसा गर्दै उहाँले विद्यालयले बालबालिकाको समग्र विकासका लागि गरेको प्रयास उदाहरणीय रहेको उल्लेख गर्नुभयो।
सो अवसरमा विद्यालयमा यसवर्ष विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो। उत्कृष्ट विद्यार्थीहरूको नाम घोषणा गर्दै उनीहरूको उपलब्धिको समीक्षा पनि गरिएको थियो।
नमुना संसद सत्रमा विद्यार्थीहरूले समसामयिक विषयहरूमा प्रस्ताव पेश गर्दै पक्ष–विपक्षमा धारणा राखेका थिए। संसदको कार्यसूची, समय व्यवस्थापन, नियमावली पालना तथा अनुशासनमा विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई वास्तविक संघीय संसदको झल्को दिएको उपस्थित अभिभावक तथा अतिथिहरूले प्रतिक्रिया दिएका थिए।
कार्यक्रममा विद्यालयका प्रमुख गुठियार डा. यशोधरा पन्त, निर्देशक डा. देवकान्त जोशी तथा प्राचार्य बादल प्रधानको विशेष उपस्थिति रहेको थियो। प्राचार्य प्रधानले यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास, सार्वजनिक बोल्ने सीप र नेतृत्व क्षमता अभिवृद्धि गर्न ठोस योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी निर्देशक डा. देवकान्त जोशीले बाल संसद पूर्ण रूपमा विद्यार्थीहरूको अभ्यासका लागि स्थापना गरिएको उल्लेख गर्दै यसलाई विद्यालयको गर्वको विषय भएको बताउनुभयो।
विद्यालयका प्रमुख प्रशासकीय अधिकृत तथा सूचना अधिकारी दीपक जोशीका अनुसार बाल संसद कार्यक्रम विगत केही वर्षदेखि सञ्चालन हुँदै आएको छ र आगामी दिनमा पनि यस्ता नेतृत्व विकासमुखी गतिविधिलाई निरन्तरता दिइनेछ।
बाल संसदको नमुना सत्रले विद्यार्थीलाई वास्तविक संसदको अनुभूति गराउनुका साथै लोकतान्त्रिक अभ्यासप्रति जागरूक बनाएको सहभागीहरूको धारणा छ।

