काठमाडौँ । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत सुनको भन्सार दर बढाएपछि नेपाली बजारमा सुनको मूल्य ह्वात्तै वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार एकैदिन सुनको मूल्यमा प्रतितोला २० हजार ५०० रुपैयाँको भारी वृद्धि भई ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो। सरकारले नयाँ बजेटमार्फत यसअघि कायम रहेको १० प्रतिशत भन्सार महसुल दरलाई शतप्रतिशतले बढाएर २० प्रतिशत पुर्याएसँगै बजारमा यसको प्रत्यक्ष असर देखिएको हो र सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो।
सुनसँगै आइतबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। नयाँ मूल्य दर अनुसार चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ, जबकी गत शुक्रबार चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा खरिदबिक्री भएको थियो। सरकारको भन्सार नीतिमा आएको यो ठुलो परिवर्तनले गर्दा समग्र गहना व्यवसाय र उपभोक्ता दुवैलाई प्रत्यक्ष प्रभाव पारेको छ।