कपिलवस्तु । कपिलवस्तु नगरपालिकाले नागरिकलाई गाउँ-गाउँमै सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा पुनः सञ्चालनमा ल्याएको छ । केही समयदेखि अवरुद्ध रहेको सेवा आवश्यक जनशक्ति व्यवस्थापनपछि मंगलबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको हो ।
नगर प्रमुख सुदिप पौडेल को स्वास्थ्य परीक्षण गर्दै एक विशेष कार्यक्रमबीच सेवाको शुभारम्भ गरिएको थियो । सङ्घीय सरकारको खर्च कटौतीसम्बन्धी परिपत्र तथा करार कर्मचारी व्यवस्थापनमा देखिएको समस्याका कारण सेवा सञ्चालनमा ढिलाइ भएको नगरपालिकाले जनाएको छ ।
यसअघि २०८२ वैशाख १२ गते Buddhist Tzu Chi Charity Foundation ले नगरपालिकालाई घुम्ती स्वास्थ्य सेवा सञ्चालनका लागि अत्याधुनिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान हस्तान्तरण गरेको थियो । फाउन्डेसनका उपाध्यक्ष युपी लिन सहितको टोलीले नगर प्रमुख पौडेललाई भ्यानको साँचो हस्तान्तरण गरेका थिए ।
वातानुकूलित मोबाइल क्लिनिकमा एमबीबीएस चिकित्सक, स्टाफ नर्स र ल्याब टेक्निसियन सहितको स्वास्थ्य टोली खटाइएको छ । सेवाअन्तर्गत ६० वर्षभन्दा माथिका नागरिकको ब्लड सुगर, रक्तचाप र पिसाब परीक्षण निःशुल्क गरिनेछ ।
१२ वडा रहेको कपिलवस्तु नगरपालिकाका प्रत्येक वडामा दुई दिनका दरले सेवा सञ्चालन गर्ने योजना बनाइएको छ । पहिलो चरणमा वडा नम्बर १२ को बिटुवा गाउँ बाट सेवा सुरु गरिएको छ ।
नगर प्रमुख पौडेलले मोबाइल स्वास्थ्य क्लिनिकले ज्येष्ठ नागरिक, गर्भवती महिला, दलित तथा अन्य लक्षित समुदाय लाई घरआँगनमै स्वास्थ्य सेवा पुर्याउने बताए । साथै दुर्गम बस्ती र प्रयोगशाला सुविधा अभाव भएका स्वास्थ्य संस्थाका लागि समेत यो सेवा उपयोगी हुने उनको भनाइ छ ।
नगर स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ता का अनुसार यस सेवाले नागरिकलाई आफ्नै गाउँ-ठाउँमा सहज रूपमा स्वास्थ्य परीक्षण तथा परामर्श प्राप्त गर्न मद्दत गर्नेछ ।
स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न मोबाइल स्वास्थ्य क्लिनिक महत्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको छ ।