देवदह । प्राकृतिक सौन्दर्यता,जैविक विविधताका कारण पनि सवैको ध्यान केन्द्रित गर्न सफल ठाउँ हो देवदह नगरपालिकाको उजेरी गाँउ । बुटवलको जितगढी किल्ला र पाल्पाको माथागढी किल्लाको विच भागमा पर्ने उजेरी गाउँ आफैमा उत्कृष्ट पर्यटकिय क्षेत्र हो । नेपाल र अंग्रेज युद्धमा हतियार भण्डारण गरिएको किल्ला माथागढी किल्लाको दक्षिण -पश्चिममा पर्ने उजेरी गाउँ मगर जातीको बसोबास रहेको बस्तीको रुपमा चिनिन्छ । मगर समुदायको मात्रै वसोवास रहेको उजेरी सङै केउली, सटाकखोला र फडेनी टोलमा गरि झण्डै १ सय ६० घर परिवारको बसोबास रहेको छ ।
जातिय संस्कृती र परम्परालाई यहाँका मगरहरुले निरन्तरता दिदै आएका छ्न्। विभिन्न चाडपर्व र जातिय संस्कारको समयमा मगरहरुले कौराहा, झ्याउरे,सोरठी जस्ता नाचहरु नाचेर मनोरञ्जन गर्ने गर्दछ्न । यहाँ मगर समुदायमा परिचित परम्परागत खानाहरु बटुक, सेलरोटी,चुकाउनी अन्य समुदायका व्यक्तिहरुले समेत रुचि पुर्वक खाने गर्दछ्न । घरमा उत्पादन गरिने कोदो, चामल तथा मौवाको रक्सी र बङुरको मासुको स्वाद लिन टाढा टाढाबाट उजेरीमा आउने गर्दछ ।

चुरे पहाडको फेदीमा रहेको उजेरी गाउँ प्राकृतिक सौन्दर्यताले सजिएको छ । चारै तिर वनजङल वीचमा वस्ती भएको उजेरीका मानिसहरुको मुख्य पेशा भनेकै कृषि हो । धान, गहु, मकै फलाउने उनीहरुले गाइबाख्रा,बङुर, कुखुरा जस्ता पसुपन्क्षी समेत पालन गर्दछ्न । भूइकठहर ,आँप,लिची र केरा लगायतका फलफुल यहाँ धेरै उत्पादन हुन्छ । उजेरी वस्तीको फेदीबाट बग्ने केउली खोला प्राकृतिक पौडी पोखरीका रुपमा परिचित छ । यहाँ गर्मी याममा शितलता खोज्दै पौडी खेल्न आउनेहरुको भिड लाग्दछ । त्यस्तै केउलीमा स्थानीयवासीले वनभोज स्थल निर्माण गरेका छन । प्रकृतिसंग रमाउन चाहानेहरु शहरको व्यस्त जीवन शैलीबाट फुर्सद मिलाएर वनभोजका लागी आउने गर्दछ । केउली खोलामा रहेको झुलुङे पुल सेल्फी जोनको रुपमा विकास भएको छ । उजेरी, सटाक खोला र केउली घुम्न आउनेहरु यही पुलमा सेल्फी खिचेर रमाउने गर्दछन् ।
उजेरी गाउँबाट गौतम वुद्धको मावलीघर भवानीपुर ७ किलोमिटर दक्षिणमा पर्दछ । यहाँ प्राचीन कोलिय दरवार क्षेत्र रहेको छ । वुद्धका ममतामयी माता मायादेवी , सानी आमा प्रजापती गौतमी र धर्मपत्नी यशोधराको जन्मस्थल यहि हो । ती ऐतिहासिक स्थलको प्रर्वद्धन गर्न सकिएमा उजेरी गाउँको पर्यटकिय विकासमा पनि योगदान पुग्ने देखिन्छ।
उजेरी गाउँमा वनजङल घुम्न, चराचुरुङ्गी अवलोकन गर्न र तराईका विभिन्न बस्तीहरुलाई हेर्न सकिन्छ । पर्या पर्यटनका लागि यो ठाउँ अत्यन्तै उपयुक्त छ । उजेरी देखी पाल्पा जिल्लाको सिमाना माथागढी किल्लासम्म पैदल मार्ग बनाउन सकिएमा पद यात्राका लागि पनि राम्रो गन्तव्य बन्न सक्ने देखिन्छ । पुर्खाहरुको ऐतिहासिक विरासतलाई स्मरण गर्न तथा प्राचिनताको अध्ययन अवलोकन गर्न उजेरी माथागढी पदमार्ग प्रभावकारी बन्न सक्दछ ।

उजेरीमा लोकल कुखुराको मासु र पाहुनाको रुचि अनुसार मकै र कोदोको परिकारहरु बनाएर उनीहरुलाई मासु र ढेडो खुवाउने गरेको स्थानीय बासी विष्णु बरालले बताए । उनले स्थानीय तह देखि प्रदेश तथा संघिय सरकारले आवश्यक वातावरण निर्माण गरि दिएमा आफुहरु मगर साँस्कृतिक होम स्टे सन्चालन गर्न तयार रहेको स्थानीय बताए । उजेरीमा बसेर वुद्ध तिर्थ स्थलहरु अवलोकन भ्रमण गर्न सहज हुने भएकाले उजेरीमा होमस्टे कार्यक्रम प्रभावकारी हुने देखिन्छ ।

उजेरी सम्म पुग्न पुर्व पश्चिम राजमार्गको भलुही देखि जङगलै जङ्गलको बाटो भएर यात्रा गर्नु पर्दछ । खोलाको किनार, जङ्गलको यात्रा आफैमा रोमान्चक हुन्छ । व्यस्त र धपेडीपुर्ण जीवन शैली भएकाहरुको लागि यो यात्रा मनोरञ्जनपुर्ण बन्न सक्दछ ।
बुटवल देखि पुर्व तर्फ भलुही बजार हुँदै ६ कि.मि उत्तर चुरे पहाडको काखमा रहेको उजेरी पर्यटकिय गन्तव्यको रुपमा रुपान्तरित हुन आतुर छ ।