Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नेपाल प्रहरी श्रीमती संघको ३९औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न


५, भदौ २०८०
  • 182
    SHARES
  • नेपाल प्रहरी श्रीमती संघको ३९औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

    काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा नेपाल प्रहरी श्रीमती संघको ३९औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले पानसमा दिप प्रज्वलन गरी उद्‍घाटन गर्नुभएको हो । उक्त कार्यक्रममा उहाँले संघबाट प्रकाशित वार्षिक स्मारिका “सहचरी २०८०” को विमोचन समेत गर्नुभयो । 

    उक्त अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले विगत लामो समयदेखि आँखा उपचार र मोतिविन्दुको शल्यक्रिया गरी आफूलाई पूर्ण रूपमा आँखा उपचारको क्षेत्रमा समर्पित राखी विश्वसामु अन्धोपन निवारणमा नेपाललाई अव्वल स्थान दिलाउन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पुर्‍याउनु हुने तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका संस्थापक एवम् कार्यकारी निर्देशक प्रा.डा.सन्दुक रूइतलाई सम्मानपत्र प्रदान गर्नुभयो ।

    सो अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले समाज सेवाका विभिन्न क्रियाकलापमा नेपाल प्रहरी श्रीमती संघले पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । नेपाल प्रहरी संगठनलाई अझ प्रभावकारी बनाई प्रहरी अधिकृत तथा जवानहरूको मनोवल उच्च राख्न संघको समेत सक्रिय भूमिका रहने हुँदा त्यसतर्फ सशंक्त रूपमा अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । 

    विभिन्न क्षेत्रमा समाज सेवामा भूमिका निर्वाह गर्ने सवै संस्थालाई एकिकृत गर्दै आपसी सहयोगका साथै ज्ञान, सीपको प्रयोग गरेर समृंद्ध समाज निर्माण गर्ने नीति तय गर्दै सकारात्मक कदम चाल्नेतर्फ छलफल भइरहेको उहाँले बताउनुभयो ।

    समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले यौनजन्य हिंसा, जवरजस्ती करणीका पीडित तथा प्रभावितलाई उद्धार, संरक्षण र पुनर्स्थापनाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनु हुने रक्षा नेपालका अध्यक्ष मेनुका थापा एवम् सामाजिक सेवाको क्षेत्रमा सराहनीय तथा प्रशंसनीय कार्यको उच्च कदर गर्दै नेपाल स्नेही काखकी संस्थापक अध्यक्ष नेहा पोखरेल, मेरूदण्ड पक्षघात समूह नेपाल माकलवारी काठमाडौंका संस्थापक अध्यक्ष ऋषिराम ढकाल र प्राणनाथ माईती वृद्धाआश्रम पनौती काभ्रेपलाञ्चोकको संस्थापक अध्यक्ष रघुनाथ तिमल्सिनालाई सम्मानपत्र प्रदान गर्नुभयो ।

    सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रसेवकको सहचरीका रूपमा सहधर्मिणीहरुको एकताको प्रतिक र संगमस्थलको रूपमा संघले थप ऊर्जाशील भएर सेवाका नवीन क्षेत्रको पहिचान गरी आफ्नो दायरा अझ फराकिलो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

    नेपाल प्रहरी श्रीमती संघले सोही प्रकृतिका अन्य संघहरुबाट भएका असल अभ्यासहरुको आदान/प्रदान गरी कल्याणका कार्यक्रमलाई अझ बृहत र प्रभावकारी बनाउन जरूरी रहेको उल्लेख गर्दै आगामी दिनमा नेपाल प्रहरीका परिवारको लागि थप कल्याणकारी क्षेत्रको पहिचान गरी कार्यक्रमलाई कार्ययोजनामा समावेश गरेर कार्यान्वयनमा ल्याउन सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

    समारोहमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले संघले सामाजिक क्षेत्रमा पुर्‍याएको सेवाको प्रशंसा गर्दै आगामी दिनमा संघले प्रवाह गर्ने सेवालाई अझ फराकिलो बनाउदै समाजलाई सुदृढ रूपमा अगाडि बढाउन संघको क्रियाशील भूमिका रहने विश्वास व्यक्त गर्नुभयो । महिलाको सहभागिता अर्थपूर्ण हुनुपर्ने उल्लेख गर्दै काठमाडौं महानगरपालिकाले नेपाल प्रहरी श्रीमती संघसँग सहकार्य गर्दै अगाडि बढ्ने उहाँले बताउनुभयो ।

    उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले सामाजिक सेवाको क्षेत्रमा प्रशंसनीय एवं उल्लेखनीय कार्यको उच्च कदर गर्दै सपनाको चाहना, समृद्ध नेपाल संस्थाकी अध्यक्ष सपना रोका मगर, स्टार हस्पिटल प्रालिका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रका कार्यकारी अधिकृत दिपक घिमिरे, कलेज अफ विजनेस म्यानेजमेन्टका संचालक एवं प्रधानाध्यापक सि.ए. सुमन न्यौपाने, नेपाल पुलिस स्कुल गरुडा रौतहटकातर्फबाट प्रधानाध्यक विना झालाई प्रशंसापत्र प्रदान गर्नुभयो । 

    साथै उहाँले २०७९ सालको एसईई परीक्षामा प्रहरी विद्यालयहरूबाट सर्वोत्कृष्ट अंक ल्याउन सफल नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकमा अध्ययनरत छात्र ईमोन गौतम नेपाल र नेपाल प्रहरी स्कुल धरान सुनसरीमा अध्ययनरत छात्र आभुषण तिमिल्सिनालाई प्रशंसापत्र एवम् नगद पुरस्कार प्रदान गर्नुभयो । 

    समारोहमा संघकी अध्यक्ष कुँवरले धन्यवाद मन्तव्य व्यक्त गर्दै संघलाई आजको अवस्थासम्म पुर्‍याउन विभिन्न माध्यमहरुद्वारा सहयोग उपलब्ध गराउनुहुने महानुभावहरु,संघ संस्थाहरु तथा सम्पूर्ण सहयोगी हातहरुप्रति हार्दिक आभार प्रकट गर्नुभयो । आगामी दिनमा पनि यस्तै मानवीय सहयोग र सेवाको निरन्तरताको अपेक्षा रहेको उल्लेख गर्दै संघले सेवाको क्षेत्र विस्तार गरी प्रहरी परिवार तथा सन्ततीहरूको हितका साथै सामाजिक, मानव कल्याणकारी एवं परोपकारी सेवाको क्षेत्रमा अझ नवीन कार्यहरू संचालन गरी सेवा प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

    नेपाल प्रहरी श्रीमती संघकी महासचिव अनुश्री पाख्रिनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरुद्वारा सहचरी गीत प्रस्तुत गर्नुभएको थियो भने विभिन्न कलाकारहरूद्वारा साँस्कृतिक नृत्य तथा गीति नाटक प्रस्तुत गरिएको थियो । सो अवसरमा संघ तथा प्रदेशद्वारा गरिएका विविध कार्यक्रम तथा गतिविधि समेटिएको वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।

    समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, संघका संस्थापक अध्यक्ष बसुन्धारा लामा, गृहमन्त्रालय तथा काठमाडौं महानगरपालिकाका पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, निजामती कर्मचारी श्रीमती संघकी अध्यक्ष, सैनिक श्रीमती संघकी अध्यक्ष, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष लगायत तीन वटै संघका पूर्व अध्यक्ष तथा पदाधिकारीहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरु, सञ्चारकर्मीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु एवम् आमन्त्रित अतिथिहरुको समेत उपस्थिति रहेको थियो ।

    DSC_8651.JPG
    undefined
    DSC_8676.JPG
    undefined
    DSC_8563.JPG
    undefined
    DSC_8539.JPG
    undefined
    DSC_8455.JPG
    undefined
    DSC_8474.JPG
    undefined
    _DSC4795.JPG
    undefined
    DSC_8619.JPG
    undefined

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend