Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

तीनधारे झरनाको प्राकृतिक सुन्दरतामा रम्दै पर्यटक


२०, भदौ २०८०
  • 131
    SHARES
  • तीनधारे झरनाको प्राकृतिक सुन्दरतामा रम्दै पर्यटक

    काभ्रेपलाञ्चोक । पारि भित्तामा झरना एकनासले सुसाइरहेको छ । वारि डाडाँमा बसेर झरनाको प्राकृतिक मनमोहक दृश्य नियालेर मन्त्रमुग्ध हुँदै तस्बिर कैद गर्नेको दैनिक घुइँचो बढ्दै गएको छ तीनधारे झरना क्षेत्रमा । जहाँ घुम्न जानेहरुको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएपछि पहिला झरनाजस्तै सुनसान बनेको काफलडाँडामा अचेल त्यहाँ गएर रमाइरहनेहरुको घुइँचो उत्तिकै छ ।

    काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको तीनधारे झरना पछिल्लो समयमा सबैको रोजाइको केद्र बनेको छ । ‘‘झरना हेर्न र घुम्न त आइयो तर त्यहाँसम्म त जान सकिँदैनजस्तो छ, यहीँबाट पनि राम्रो देखिने रहेछ”, तीनधारे झरना घुम्न पुग्नुभएका पत्रकार रक्तिम लामाले भन्नुभयो, “यतैबाट हेरेर फर्किनु पर्ला ।” झरनाको सुन्दर दृश्य अवलोकन गर्न वारि डाँडामा निर्माण गरेको रेलिङमा अडेस लगाउँदै उहाँले भन्नुभयो । यहाँको प्राकृतिक सुन्दरताका कारण प्रकृतिमा रम्न चाहनेहरु दैनिक रुपमा यसरी नै त्यस ठाउँमा पुगेर आनन्द लिने गरेका छन् । झरनाको कञ्चन पानीमा पौडी खेल्ने र छङ्छङ् झरिरहेको पानीमा रुझेर आनन्द लिनेहरुको भीड पनि उत्तिकै छ त्यहाँ ।

    काठमाडौँबाट झरना अवलोकन गर्न काफलडाँडा पुग्नुभएका मिङ्मा शेर्पाले पर्यटन विकासको सम्भावना बोकेको ठाउँ अति नै मनमोहक लागेको बताउनुभयो । झापा घर भएर काठमाडौँ बस्दै आउनुभएका उहाँले सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत झरनाका बारेमा जानकारी पाएको बताउँदै त्यहाँ पुग्दा झन् मोहित बनेको सुनाउनुभयो । झरनासम्म पुग्नका लागि सडक सुविधामा भने सुधार गर्नुपर्ने उहाँको सुझाव छ । 

    बालककालदेखि नै सो डाउँमा घाँसदाउरा गर्दै आउनुभएका वडा नंं २ का स्थानीय बासिन्दा हिराकाजी बलले झरनाको प्रचार भएपछि मात्र यस ठाउँले विकासमा फड्को मार्न सकेको बताउनुभयो । पहिलादेखि प्रख्यात रहेको भुरुङ्गे लेकसम्म मोटरबाटो भएको खण्डमा डाँडापारिबाट समेत घुम्न आउनेको सङ्ख्यामा वृद्धि हुने उहाँको भनाइ छ । वडा नं १ ताङलिङका अर्का बासिन्दा सिंगध्वज थोकरले झरना भएको ठाउँमा पहिला शक्तिशाली नाग रहेको पुर्खाहरुले सुनाउने गरेको स्मरण गर्नुहुन्छ । पहिला सबै ठाउँका नागहरु शनिबार भेला हुने गरेको कथनसमेत सुनाउने गरेको पुर्खाको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो । 

    जिल्ला सदरमुकामबाट करिब ३० किलोमिटरको दूरीमा रहेको सो ठाउँ प्रचारमा आएसँगै त्यहाँ घुम्न जानेहरुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । सो क्रममा झरनाको अवलोकन गर्न पुग्नुभएको नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामा झरना भएको ठाउँमा पुगेपछि छुट्टै आनन्द मिल्ने गरेको अनुभूति भएको बताउनुभयो । सो ठाउँको विकासका लागि अन्तरपालिकाको समन्वय बैठकबाट विकास र प्रवर्धनका लागि गर्न सकिने सहकार्यमा हातेमालो गर्ने योजना बनाउन अगाडि बढ्ने बताउनुभयो ।

    प्रचारको प्रभाव बढ्दै गएको र यसको महत्व पनि फराकिलो बन्दै गएको अवस्थामा अब राष्ट्रियस्तरको पर्यटकीय क्षेत्र बनाउन पहुँच मार्ग निर्माण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताउनुभयो । “अहिले पालिकाको सीमित स्रोतसाधनबाट मात्रै प्रयास गर्दै आएका छौँ, अब प्रदेश सरकारसम्म यसको कुरा पुगिसकेको छ”, उहाँले भन्नुभयो । झरना क्षेत्रलाई अझ सुधार गर्दै पर्यटकको गन्तव्यस्थल बनाउन पालिकाले विस्तृत परियोजना रिपोर्टसमेत बनाइसकेको छ । पालिकाले अहिले झरनासम्म जाने मोटरबाटोको स्तरोन्नति गर्ने र माथि डाँडाबाट झरनासम्म जाने बाटोमा रेलिङ हाल्ने काम भइरहेको उहाँले बताउनुभयो ।

    जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङले झरनाको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या बढेसँगै स्थानीय बासिन्दाको आयस्तरमा पनि वृद्धि हुने खालको योजना बनाउन आवश्यक रहेको बताउनुहुन्छ । पर्यटकलाई स्थानीय उत्पादनको परिकार खुवाएर आम्दानी लिने र त्यहाँ पाइने जडीबुटीको प्रशोधन गरी आम्दानीको स्रोतमा वृद्धि हुने खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँको जोड छ । 

    उद्योग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले झरना क्षत्रेमा पुगेर मुलुकले समृद्धि, आर्थिक विकास र जीवनस्तरमा सुधार ल्याउन तीनधारे झरनाको पर्यटकीय विकासका लागि सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो । यस्तै खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामाले तीनधारे झरना काभ्रे जिल्लाकै सम्पत्तिका रुपमा रहेकाले यस क्षेत्रको अझ थप विकास गर्न सबै राजनीतिक दल र सामाजिक व्यक्तित्वहरु हातेमालो गर्नुपर्ने बताउनुभयो । उहाँले झरना क्षेत्रमा जिपलाइन सञ्चालन गरेर पर्यटन प्रवर्धन गर्न सकिने सम्भावना रहेको उल्लेख गर्नुभयो । दाप्चादेखि फलामेसाँघु र फलामेसाँघुदेखि काफलडाँडा तीनधारे झरनासम्म गरी दुई खण्डमा पक्की सडक निर्माणका लागि आफूले पहल गर्ने बताउनुभयो । 

    बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले पर्यटकीय दृष्टिकोणले प्राकृतिक सुन्दरता र कृषिका लागि महत्वपूर्ण क्षेत्र रहेकाले तीनधारे झरनाको विकासको लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो । झरना जाने सिंढीहरु निर्माण, रेलिङलगायत पक्की सडक निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।  

    पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै काफलडाँडामा स्थानीयवासीले घरबास पर्यटन (होमस्टे) समेत सञ्चालनमा ल्याएको छ भने स्थानीय बासिन्दाले त्यही उत्पादन भएको कृषिजन्य वस्तु बिक्री गरेर आम्दानीसमेत लिँदै आएका छन् । गाउँपालिकाले पनि झरनाको विकाससँगै नागरिकको जीवनस्तरमा सुधार ल्याउन वडा नंं २ को आयोजना तथा गाउँपालिकाको समन्वयमा ‘मनमोहक एवं प्रसिद्ध पर्यटकीयस्थल तीनधारे झरनाको प्रवर्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रम’ आयोजना गरी विकास प्रवर्धनमा जोड दिएको छ । २०२८ सालमा तत्कालीन नेपाल पर्यटन विभागमा सूचीकृत भएको झरना यसअघि ओझेलमा थियो । कोरोना कहरको बीचमा मानिसहरु घुम्न जाने गरेपछि एकाएक चर्चामा आएको हो ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend