काठमाडौं । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले विश्वविद्यालयहरुले गुणस्तरण मान्यताप्राप्त क्याम्पसहरुलाई छुट्टै हैसियत दिन सक्नुपर्ने बताउनुभएको छ ।
गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणीकरण भएको उपलक्ष्यमा आयोजित बधाई तथा धन्यवाद ज्ञापन समारोहमा उहाँले क्यूएइ प्राप्त क्याम्पसहरुलाई नयाँ/नयाँ कार्यक्रमहरु सञ्चालन गर्न र स्वतन्त्र बनाउँन आवश्यक भएको भन्दै छुट्टै प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो ‘विश्वविद्यालयहरुले पनि क्यूएइ प्राप्त क्याम्पसहरुलाई छुट्टै हैसियत दिन सक्नुपर्छ । विश्वविद्यालय अनुदान आयोगले यो विषयमा कमि महशुस गरेको छ । यस्तो क्याम्पसहरुलाई नयाँनयाँ कार्यक्रमहरु सञ्चालन गर्न दिनुपर्छ, यी क्याम्पसहरुलाई स्वतन्त्र बनाउँनुपर्छ । विश्वविद्यालयहरुलाई यही मञ्चबाट आग्रह गर्न चहान्छु यस्तो क्याम्पसहरुलाई मौका दिनुपर्छ ।’
यस्तै उहाँले सामुदायीक क्याम्पसहरुलाई पनि क्यूएइको चक्रमा ल्याउँनुपर्ने भन्दै केही समयमा क्याम्पसहरुलाई डिग्री अवार्डिङ् क्याम्पसको रुपमा परिणत गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो ‘प्रथम पटक गुणस्तर प्राप्त भएको छ, दोस्रो र तेस्रो पटक पनि गुणस्तर प्राप्त भएपछि कुनै बेला यी क्याम्पसहरुलाई डिग्री अवार्डिङ् क्याम्पसको रुपमा परिणत गर्नुपर्छ, आफै स्वतन्त्र भएर क्याम्पसहरु चलाउँनुपर्छ । हामी त्यसको लागि तयार हुनुपर्छ ।’