बुटवल। पुरानो विद्यालयको एउटा स्तम्भ हो बुटवलको उजिरसिंह मावि । जुन पारी बुटवलमा छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको विद्यालयको शैक्षिक यात्राले लामो समय चल्दै आएको छ । अग्रेजसँग लडेर जितकिल्ला बचाउन विजयी हासिल गर्नुभएका कर्णेल उजिरसिंह थापाकै नाममा सञ्चालन हुँदै आएको छ ।
वुधबार सो विद्यालयको हिरक जयन्तीको शुभारम्भ तथा उजिरसिंह थापाको अर्धकदको शालिक अनावरण गरिएको छ । एक औपचारिक समारोहका विच पश्चिम पृतना हेडक्वाटर बुटवलका पृतनापती उपरथि यामप्रसाद ढकालले शालिकको अनावरण गर्दै राष्ट्र जोगाउन स्व.कर्णेल उजिरसिंह थापाले पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो ।
पृतनापति ढकालले भन्नुभयो-६० वर्षअघि स्थापना भएको विद्यालयको ब्यवस्थापन समितिबाट नेपालको स्वाभिमान जोगाउने योद्धा कर्णेल उजिरसिंहको नाम राखेर योगदानको उच्च कदर गरेको छ । उहाँले जितगढीको महत्व र उजिरसिंहको योगदानलाई प्रचारप्रसार गरी पर्यटिकय हब बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उजिरसिह माविका अध्यक्ष विमलवहादुर शाक्यले नेपालको रक्षा गर्न नेपाली सेनाले दिएको योगदानलाई भुल्न नसकिने जनाउनुभयो। नेपाली र नेपालको रक्षार्थ नेपाली सेनाले कहिल्यै सम्झौता नगरेको भन्दै नालापानी, जितगढी किल्ला लगायत युद्धको स्मरण गर्नुभयो। अध्यक्ष शाक्यले हिरक महोत्सवको अवसरमा उजिर सन्देश-२ स्मारिका प्रकाशनको तयारी भईरहेको भन्दै आगामी पुसमा सप्ताहब्यापी कार्यक्रम गरिने समेत बताउनुभयो।
कार्यक्रममा पुर्वजिल्ला शिक्षा अधिकारी तथा विद्यालयका सल्लाहकार टेकवहादुर थापाले बुटवलबासी हुनुमा गौरवगाथाका रुपमा जितगढी किल्ला सहित धेरै धार्मिक, पर्यटकीय क्षेत्रहरु रहेको भन्दै संरक्षण र प्रचारप्रसारमा ध्यान दिनुपर्ने सुझाब दिनुभयो ।
विद्यालय प्रधानाध्यापक पदमराज ज्ञवालीले नेपालको सामरिक महत्वसंग जोडिएको कर्णेल उजिरसिंह जस्ता महान ब्यक्तिको नामबाट स्थापित विद्यालयको गरिमा बढाउने गरी कार्यहरु भएको उल्लेख गर्नुभयो । २०२० सालमा स्थापना भएको विद्यालयले गुणस्तरीय शिक्षालाई अवलम्बन गर्दै आएको वताउनुभयो ।
औपचारिक कार्यक्रम अघि विद्यालय बाट शुरु भएको र्याली पारी बुटवल, हाटबजार, जनबिनायक मन्दिर, निमचोक हुँदै पुनः विद्यालयमा पुगेर समापन भएको थियो ।