Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पर्यटकलाई सधैँ बैसरी पहिरोको चुनौती


१८, असोज २०८०
  • 209
    SHARES
  • पर्यटकलाई सधैँ बैसरी पहिरोको चुनौती
    गण्डकी । सोह्र श्राद्धका कारण केही दिनयता हिमालपारिको जिल्ला मुस्ताङ धार्मिक पर्यटकले खचाखच छ । दिनहुँजसो मुुस्ताङ जाने र फर्कने पर्यटकका कारण जोमसोम–बेनी सडकखण्डमा गाडी लस्करै गुडेका देखिन्छन् । उक्त सडकखण्डमा बैसरीलगायत केही स्थानमा पटक पटक गइरहने पहिरोका कारण घन्टौँ गाडी रोकिदा यात्रुले सास्ती भोग्नुपरेको छ । 
     
    सोह्र श्राद्धलाई लक्षित गरी मङ्गलबार नवलपुरबाट हिँड्नुभएका सरोज ढकाल र उहाँको परिबार बेलुका गलेश्वर आएर बस्नुभयो । बुधबार बिहानै मुस्ताङका लागि हिँड्नुभएका उहाँहरू त्यहाँबाट करिब दुुई तीन किलोमिटरको दूरीमा पुग्दा सडकमाथिबाट खसेको पहिरोले अघि बढ्नसक्ने अवस्था रहेन । ढकाल परिवार त्यहाँबाट सुरक्षित भई बस्नका लागि पुनः गलेश्वर नै फर्कियो ।
     
    दिउँसो ३ः३० बजे पहिरो पन्छाएपछि मात्रै उहाँहरू मुस्ताङतर्फ अघि बढ्नुुभयो । ढकाल परिवार जस्तै यस सडकखण्डमा यात्रा गर्ने जो कोही पनि यो समस्या दिनानुदिन भोग्दै आएका छन् । बुधबार बैसरीदेखि रुप्सेलगायत चार पाँच ठाउँमा पहिरो गएको थियो । त्यसो त मङ्गलबार पनि झण्डै दिनभर जस्तै उक्त क्षेत्रका पहिरोका कारण पर्यटकले सास्ती भोग्नुपरेको थियो । बैसरीको पहिरोको कष्टले पर्यटकलाई सास्ती भएको बताउनुहुने ‘पुन होटेल’ बैसरीका सञ्चालक जसमाया पुन यहाँको पहिरोको जोखिम आफूूहरूका लागि दैनिकी जस्तै बनेको बताउनुहुन्छ ।
     
    वर्षातमा यहाँ जाने गरेका पहिरोले बेनीसम्म आउन जान पनि निकै समस्या हुने गरेको बताउँदै पुनले हिउँद लागिसके पनि समस्या ज्युँकोत्युँ रहेको दुुःखेसो सुनाउनुभयो । “दिनदिनै जाने गरेको पहिराले बाटो अवरुद्ध हुँदा पर्यटकले निकै कष्ट पाउने गरेका छन्”, उहाँले भन्नुुभयो, “वर्षौंदेखिको समस्या समाधान नहुुँदा स्थानीयले भोग्ने गरेका दुःख त कति छन् कति ।” उक्त खण्डमा निर्माण कार्यलाई बढाए पनि कछुवाको गतिमा हुँदा समस्या पर्ने गरेको स्थानीयको दुःखेसो छ ।
     
    वि.सं २०७२ जेठ ९ गते राति बैसरीमा आएको पहिरो उक्त स्थान र आसपासका क्षेत्रमा लगातार रुपमा पहिरोको समस्या पर्ने गरेको छ । उक्त समयमा बस्तीमाथिबाट पहाडको ढिस्कै खसेर कालीगण्डकी नदी १६ घण्टासम्म थुनिएको अवस्थालाई यहाँका स्थानीय कल्पनासमेत गर्न सक्दैनन् । बेनी जोमसोम आवतजावत गर्ने यात्रुका लागि चौतारीजस्तै बनेको यो ठाउँ बेगखोला, बैसरी भगवती, राम्चे, पिप्लेलगायत आसपासका स्थानका मानिसको किनमेल गर्ने स्थानीय बजारसमेत थियो ।
     
    बैसरीको त्यो प्राचीन मौलिकता पहिरोसँगै हराएको अर्का स्थानीय सोमबहादुर पुनले बताउनुुभयो । केही दिनअघि मात्र बैसरीमा पहिरो खस्दा एक चालकले ज्यान गुमाएको उहाँले जानकारी दिनुुभयो । “मुस्ताङ जाने पर्यटक बर्सेनि बढ्दै गएका अवस्थामा बैसरीको पहिरो दीर्घकालीन समस्याका रुपमा चुनौती बनेको छ”, उहाँले भन्नुभयो, “निर्माणाधीन सडकलाई चाँडो सम्पन्न गर्ने गरी संवेदनशील ठाउँलाई प्राथमिकताका साथ काम गर्नु आवश्यक छ ।”
     
    मुस्ताङमा पर्यटकको बढ्दो आकर्षणलाई आत्मसात् गर्दै सडक पूर्वाधारलाई व्यवस्थित गर्ने कुुरालाई उच्च प्राथमिकतामा राख्नुपर्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका अधिकृत सागर श्रेष्ठले बताउनुभयो । पर्यटकीयरुपमा मुस्ताङको धेरै सम्भावना रहेको उल्लेख गर्दै उहाँले यहाँको प्रर्वधनमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय निरन्तर लागिरहेको बताउनुभयो ।
     
    “राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मञ्चमा पनि मुस्ताङको प्रर्वधनलाई प्राथमिकताका साथ उठाउने गरिएको छ”, उहाँले भन्नुभयो । हिन्दू र बौद्ध धर्मको साझा तीर्थस्थल मुक्तिनाथ स्वदेशीका साथै विदेशी पर्यटकको आकर्षक गन्तव्य हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन भ्रमण गरेसँगै यहाँ भारतीय पर्यटकको आकर्षण अझै बढेको छ ।
     
    पछिल्ला वर्षमा भारतीय दर्शनार्थी बर्सेनि ठूलो सङ्ख्यामा आउने गरेको मुक्तिनाथ मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । उपल्लो मुस्ताङस्थित माटाको सहरका रुपमा परिचित लोमन्थाङ, नेपाल चीनबीचको कोरोला नाकाका साथै दामोदर कुण्ड आदिले यहाँको महिमा र गरिमा अझै बढाएको छ । 

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend