Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भारतीय पर्यटकको रोजाइमा पोखरा


२१, असोज २०८०
  • 136
    SHARES
  • भारतीय पर्यटकको रोजाइमा पोखरा

    पोखरा । पर्यटकीय मौसम सुरु भएसँगै यतिबेला पोखरा लेकसाइडको सडकमा भारतीय पर्यटकको चहलपहल बढ्दै गएको छ । पोखराका विभिन्न पर्यटकीय गन्तव्यसँगै मुक्तिनाथको यात्रामा आएका भारतीय पर्यटकहरुको चहलपहलले अहिले लेकसाइडमा पर्यटकीय मौसमको आभास दिलाइरहेको छ ।

    फेवातालको बाराही मन्दिरको दर्शनपश्चात् पोखरा घुम्न आउनुभएका भारत चेन्नईका व्यापारी विजय श्रीवास्तवले पोखरा अद्भुत सहर भएको बताउनुभयो  । हिमाल तालको लोभलाग्दो दृश्यसँगै, शिव मूर्ति, पातले छाँगा, चमेरे गुफा, महेन्द्र गुफा लगायतका ठाउँहरुले आफूहरुलाई लोभ्याएको उहाँको भनाइ थियो ।  

    दोस्रोपल्ट पोखरा आउनुभएका उहाँले यसअघि साथीहरुसँग आएको र अहिले परिवारसहित आएको जानकारी दिनुभयो । उहाँसँगै पोखरा घुम्न आउनुभएकी ५५ वर्षीया सोनिया गुप्ता भने पोखराबाट मुक्तिनाथसम्म पुग्ने तयारीमा हुनुहुन्छ । धर्मकर्ममा विशेष रुचि भएका कारण उहाँले पोखराका प्रमुख धार्मिक मठमन्दिरको पनि अवलोकन गरेको बताउनुभयो ।  श्रीमान्का साथमा पहिलो पटक पोखरा आउनुभएकी उहाँले आफ्नो समूहमा ३० जना रहेकाले पोखराको सुन्दरतामा रमाएको अनुभव सुनाउनुभयो । 

    अर्का पर्यटक महेश मिश्राले धार्मिक यात्राका लागि दामोदर कुण्ड, मुक्तिनाथ दर्शन गर्न मन पराउने तथा प्राकृतिक सुन्दरताका कारण पोखरा रोजाइमा पर्ने गरेको र पोखराको सुन्दरता अवर्णित रहेको बताउनुभयो । उहाँका अनुसार भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथ दर्शन गरेपछि भारतीय पर्यटकको रोजाइमा नेपाल पर्दै गएको छ । हिन्दू धर्ममा आस्था राख्ने अधिकांश भारतीय धार्मिक पर्यटकले मुक्तिनाथ र पशुपतिमा आउन रुचि देखाउँछन् । 

    गत साता मात्रै भारतको गुजरातबाट नीलकण्ठवर्णी स्मृतियात्रामा मुक्तिनाथको दर्शनका लागि करिब सात सय पर्यटक एकैचोटि पोखरा आएका थिए । उनीहरुले पोखराका विभिन्न पर्यटकीयस्थलको समेत अवलोकन गरेका थिए । पोखरा पर्यटन परिषद्का सचिव एवम् होटल रानीवन आर्केटका सञ्चालक हरि भुजेल पछिल्लो समय पोखराको पर्यटन चलायमान गराउन भारतीय पर्यटकको भूमिका महत्वपूर्ण रहेको बताउनुहुन्छ । 

    “अहिले पोखरा भारतीय पर्यटकको रोजाइको सहर बन्न थालेको छ, एक थरी पोखराको प्राकृतिक सुन्दरतामा रमाउनेहरु छन् भने अर्को थरी धार्मिक मठमन्दिरप्रति आकर्षित पर्यटक रहेका छन्”, उहाँले भन्नुभयो । विभिन्न पर्यटकीय सङ्घसंस्थाले पनि भारतमा ‘चलिए पोखरा’ लगायतका प्रर्वधनात्मक कार्यक्रम गरिरहेकाले पनि भारतीय पर्यटकको सङ्ख्या बढ्न थालेको उहाँको भनाइ छ । 

    भारतीय फिल्म छायाङ्कनमा सरकारले प्राथमिकता दिने हो भने नेपालको प्रचारप्रसार हुने र यहाँको सुन्दरताले थप पर्यटक आकर्षित गर्न सकिने उहाँको बुझाइ छ । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकीय यो मौसममा अहिले भारतीय पर्यटकको आगमन राम्रो भएको बताउनुभयो । उहाँले हिमाल खुलेर पर्यटक बोलाइरहेको यो अवस्थामा अन्य विदेशी पर्यटकको सङ्ख्या न्यून रहेको अवस्थामा भारतीय र चिनियाँ पर्यटकको आगमन राम्रो रहेको बताउनुभयो । 

    उहाँले आन्तरिक पर्यटकका लागि ‘जाउँ है पोखरा’ र भारतीय पर्यटकका लागि ‘चलिए पोखरा’ कार्यक्रम लिएर नेपाल तथा भारतका विभिन्न सहर जानका लागि पोखरा महानगरपालिकासँग सम्झौता भइसकेको जानकारी दिनुभयो ।

    नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)गण्डकीका अध्यक्ष हरिराम अधिकारीले पर्यटकीय मौसममा भारतीय पर्यटकको आगमनले पर्यटन व्यवसायीलाई केही राहत प्रदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो मौसम विदेशी पर्यटकको चहलपहल हुने समय हो, तर कोभिड पछाडि विदेशी पर्यटकको आगमन बढ्न सकेको छैन, अहिले भारतीय पर्यटकसँग केही चिनियाँ पर्यटकले लेकसाइडमा चहलपहल बढाएका छन् ।” 

    उहाँले केही महिनाअघि सिलगुडीमा भएको बङ्गाल ट्राभल मार्ट (बिटिएम) कार्यक्रम गरेर फर्किएको जानकारी दिँदै भन्नुभयो, “धेरै भारतीयले पोखरा घुम्न रुचि देखाउनुभएको छ, तर ‘कनेक्टिभिटी’ र अन्य केही कारणले हैरानी ब्यहोर्नु परेको उहाँहरुको गुनासोे छ, भारतीय पर्यटकको गुनासो राजमार्गको अवस्था नाजुक र विभिन्न ठाउँमा सुरक्षाकर्मीको अनावश्यक जाँच,  शौचालयको अभाव र हवाई ‘कनेक्टिभिटी’ बारेमा उहाँहरुको गुनासो छ, नत्र नेपाल र अझ पोखरा आउन धेरै भारतीय लालायित भएको हामीले पायौँ ।” उहाँले नेपालसँग भारतीयको भाषा, धर्म, संस्कार, संस्कृति धेरै मिल्ने र कतिपय आफन्त इष्टमित्र नै नेपालमा भएकाले पनि नेपालप्रति उहाँहरुको निकै राम्रो भावनात्मक सम्बन्ध देखिएको बताउनुभयो ।

    पर्यटन क्षेत्रमा अर्बौको लगानी गरेका पर्यटन व्यवसायी अन्तर्राष्ट्रिय उडान हुन नसक्दा चिन्तित भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विमानस्थल सञ्चालनसँगै जुन उत्साह पर्यटन व्यवसायीमा थियो त्यो घट्दै गएको छ, अहिले भारतीय पर्यटकको आगमन केही राम्रो देखिएको छ, तर सोही अनुपातमा विदेशी पर्यटकको सङ्ख्या बढ्न सकेको छैन, लगानी उठाउन आन्तरिक पर्यटकले धान्दैन ।” 

    उहाँले भारतीय पर्यटकका लागि धार्मिक, प्राकृतिक र सांस्कृतिक हिसाबले पोखरा रोजाइमा परे पनि सडक पूर्वाधारको नाजुक अवस्था, हवाई असुविधाका कारण उल्लेख्य मात्रमा भारतीय पर्यटक भित्र्याउन नसकिएको बताउनुभयो । 

    पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो गत अगस्तमा ६७ हजार एक सय ५३ पर्यटक हवाई मार्गबाट आएको देखिन्छ । तीमध्ये भारतबाट आउने २६ हजार छ सय ६५ छ । अध्ययनअनुसार गण्डकीमा सात सय पर्यटकस्तरका होटल, पर्यटन क्षेत्रमा रु पाँच खर्ब बढीको लगानी रहेको उहाँले जानकारी दिनुभयो । 

  • दसैँमा चितवन निकुञ्जमा पर्यटकको घुइँचो, २० हजारभन्दा बढीले गरे सफारी

    चितवन । दसैँको अवसरमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या २० हजार नाघेको छ। असोज

  • नेपाल–भारत पर्यटन सहकार्य विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ आयोजना हुँदै

    चितवन । भारतीय पर्यटकलाई नेपालका धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक गन्तव्यसम्म आकर्षित गर्ने उद्देश्यले नेपालभारत

  • एबिसीतर्फ बढ्यो पर्यटकको चाप, दैनिक ३०० पर्यटक पुग्न थाले

    कास्की । बाढीपहिरोका कारण प्रभावित सडक तथा पदमार्ग सञ्चालनमा आएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी)

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend