काठमाडाै । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयलाई आविस्कार र अनुसन्धानको केन्द्रको रुपमा विकास गर्न जरुरी रहेको बताएका छन् ।
नेपाल राष्ट्रिय प्राद्यापक संगठनको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अनुसन्धानमा आधारित मौलिक उच्चशिक्षाको आवश्यकता रहेको बताएका हुन् ।
‘प्राज्ञिक क्षेत्रमा तपाईहरुले विकास र रुपान्तरणका कैयन सैद्धान्तिक र दार्शनिक पक्षको चर्चा गर्न आवश्यक भएकाे भन्दै उनले भने "विश्वका कतिपय अनुभव, सिद्धान्त र दर्शनलाई नेपाल सुहाउँदो विकास र परिवर्तनको मोडेलको खोजीका लागि विश्व विद्यालय तहमा अनुसन्धान जरुरी छ र तपाई प्राद्यापकहरु अनुसन्धानमा केन्द्रीत हुनुपर्दछ ।"
शैक्षिक बेरोजगारी राष्ट्रको मूल समस्या भएको बताउँदै देशभित्रै उद्यमशील वातावणको निर्माण गरी रोजगारी सिर्जना, स्वरोजगारी र समृद्धि हासिल गर्ने उच्चशिक्षाका पाठक्रमहरु निर्माण गर्नेतर्फ प्राध्यापकहरुले ध्यान दिनुपर्ने प्रधानमन्त्री प्रचण्डको जोड छ । विश्वविद्यालयहरु पठ्यक्रमहरु र पठनपाठनहरु सूचना प्रविधिमा आधारित हुँदामात्रै यस युग सुहाउँदो जनशक्ति निर्माण गर्न सकिने प्रधानमन्त्री प्रचण्डको भनाई छ ।