काठमाडौं । श्री शान्ति माध्यमिक विद्यालय तथा बेइजिङ न्यू ट्यालेन्ट एकेडेमी(BNTA)बीच चिनियाँ भाषाको अन्तर्राष्ट्रिय प्रवद्र्धनमा सहयोग गर्न र उक्त भाषामा सञ्चार समेत प्रवर्द्धन गर्न मिति २०८० साल कार्तिक ३० गते समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा दुवै शैक्षिक संस्थाहरूले शिक्षण अनुसन्धान, शिक्षण सामग्री विकास, र संस्कृति प्रसारण र भगिनी विद्यालय निर्माणमा सहकार्य गर्ने उल्लेख गरिएको छ।
बेइजिङ न्यू ट्यालेन्ट एकेडेमीले चिनियाँ भाषा अध्ययन गर्न चीन आउने विदेशी विद्यार्थीहरू, स्थानीय चिनियाँ भाषाका शिक्षकहरूको तालिम, चीनमा विदेशी चिनियाँ भाषाका शिक्षकहरूको तालिम कार्यक्रम र विदेशी विद्यार्थीहरूको चिनियाँ भाषा समर क्याम्पलगायत कार्यक्रमहरूमा भगिनी विद्यालयलाई सहयोग गर्नेबारे समेत दुवै शैक्षिक संस्थाबीच समझदारी भएको छ।
यसैगरी, श्री शान्ति माध्यमिक विद्यालयले सम्बन्धित कार्यक्रमहरूको लागि सक्रिय रूपमा शिक्षक नियुक्त र विद्यार्थीहरू भर्ना गर्ने, बेइजिङ न्यू ट्यालेन्ट एकेडेमीसँग समन्वय गरी चिनियाँ भाषा शिक्षण सामग्री र शिक्षण विधिहरूबारे अनुसन्धान तथा विकास गर्ने व्यहोरा उक्त समझदारीपत्रमा उल्लेख गरिएको छ।
श्री शान्ति माध्यमिक विद्यालयको तर्फबाट सो समझदारीपत्रमा उक्त विद्यालयका प्रधानाध्यापक मान बहादुर पाण्डेले हस्ताक्षर गर्नुभएको थियो ।