Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

तानसेनका घुम्नैपर्ने ऐतिहासिक पर्यटकीय स्थल


३, पुस २०८०
  • 486
    SHARES
  • तानसेनका घुम्नैपर्ने ऐतिहासिक पर्यटकीय स्थल

    पाल्पा। तानसेन नेपालको लुम्बिनी प्रदेशको पाल्पा जिल्लाको सदरमुकाम तथा एक नगरपालिका हो । पाल्पा जिल्लाको तत्कालीन पाल्पा तानसेन इलाकाका क्षेत्रहरूलाई समेटेर वि.सं २०१४ ज्येष्ठ १७ गते नेपाल राज्य नगरपालिका ऐन, २००९ लाई आधार बनाएर यो नगरपालिका घोषणा गरिएको थियो ।

    तत्कालीन राजा महेन्द्र शाहले वि.सं २०१७ पुस २२ गते नेपालमा पञ्चायती व्यवस्था लागू गरेपछि तानसेन नगरपालिकाको नाम स्वतः परिवर्तन भई तानसेन नगरपञ्चायतु भएको थियो ।

    तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले भन्नुभयो, “तानसेनको नाउँ सुन्ने बित्तिकै बादलमाथिको सुन्दर नगरी मानसपटलमा बस्छ माडी फाँटलाई फाँकोले ढकमक्क ढाक्दाको दृश्यले तानसेन बादलमाथि तैरिइरहेको सुन्दर नगरजस्तो देखिन्छ, उत्तरतिर देखिने हिमशृङ्खला, सूर्योदय र सूर्यास्तपख देखिने मनोरम प्राकृतिक छटालाई आँखामा थुनिराखुँझैं गराउँछ । तानसेन प्राकृतिक एवम् मनोरम छटाले जति सुन्दर छ, मानवनिर्मित प्रकृतिले पनि यो धनी छ ।”

    प्रमुख सन्तोषलाल श्रेष्ठका अनुसार सेन, शाह र राणाहरूले तानसेनलाई ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्रशासनिक एवम् व्यापारिक केन्द्रका रूपमा सिङ्गारेका थिए ।  पाल्पा राज्यलाई सुव्यवस्थित बनाउन रुद्रसेनले यो ठाउँमा रहेको घना जङ्गललाई फडानी गरी तानसेनको बस्ती बसाएका थिए ।

    नेपालको संविधान २०७२ अनुसार वि.सं. २०७३ फागुन २२ गते नेपालमा स्थानीय तह कायम गर्दा पाल्पा जिल्लामा साबिक बराङ्दी  मदनपोखरा, तेल्घा, बन्दीपोखरा, बौघागुम्बा, बौघापोखराथोक र अर्गेली गाउँ विकास समितिहरूलाई समेटेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको हो ।

    तानसेन नगरपालिकाले यहाँ आउने पर्यटकलाई यहाँको संस्कृतिको पहिचान झल्कने सांस्कृतिक कार्यक्रमहरू गर्ने योजना बनाइरहेको उपप्रमुख प्रतीक्षा सिंजालीले बताउनुभयो । सिंजालीले भन्नुभयो, “पश्चिम नेपालको एक ऐतिहासिक सहर बुटवल तथा पोखरा भएर जाने राजमार्गमै अवस्थित छ ।

    तानसेन दरबार, रानीमहल, भगवती मन्दिर, अमर नारायण मन्दिर, रानी महल, श्रीनगर, चण्डीभन्ज्याङ सुरुङमार्ग, लिपिन्देवी मन्दिर, सितलपाटी, गुफा, माडिफाँट लगायत भर्खरै नगरपालिकाको जिम्मामा आएको श्रनिगर डबली यहाँका लोकप्रिय पर्यटकीय स्थलहरू हुन् ।”

    इतिहास

    शाह राजवंशको उदय हुनुभन्दा अघि तानसेन मगर राज्यको राजधानी थियो मगर भाषामा तानसेन शब्दको अर्थ उत्तरी बस्ती हुनाले यो सहरको नाम तानसेन राखिएको हो भन्ने विभिन्न पुस्तकमा भेटिन्छ ।

    भूवनोट

    तानसेन नगरपालिकामा १४ वडाहरू रहेका छन् । तानसेनको कुल क्षेत्रफल १०९.८ वर्ग किलोमिटर रहेको छ । यो नगरपालिकाको पूर्वमा बगनासकाली गाउँपालिका छ भने पश्चिममा रिब्दीकोट गाउँपालिका छ ।  यसको उत्तरी भागमा स्याङ्जा जिल्ला छ भने दक्षिणी क्षेत्रमा तिनाउ गाउँपालिका पर्दछ ।

    तानसेन नगरपालिकाका मुख्य पर्यटकीय स्थलहरू

    रानीमहल

    धार्मिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्वको पहिचानले भरिएको प्रेमको प्रतीक नेपालको ताज महल नामले समेत प्रख्यात रानीमहल तानसेन नगरपालिका भित्र पर्दछ । कृत्रिम ढङ्गले निर्माण गरिएका संरचना र स्थलहरूले यहाँ घुम्न आउने मानिसलाई लोभ्याउने गर्छ । तराई क्षेत्रसँग सिँधा सम्पर्कमा रहेको पाल्पाको रानीमहल नेपालकै महत्त्वपूर्ण पर्यटकीय स्थल हो । पोखरा पुग्ने पर्यटकका लागि सङ्गमस्थलका रूपमा समेत परिचित छ ।

    ranimahal.jpg

    शितलपाटी
    शितलपाटी तानसेन नगरको मध्य भागमा अवस्थित गोलो आकारको पौवा हो । यसलाई गोलघर पनि भन्ने गरिन्छ । यो स्थानीय मानिसहरूलाई कुराकानी गर्ने स्थानको रूपमा प्रख्यात छ । गोलघरको संरचना गोलो आकारको एक तल्ले भवन र बिचमा खुला स्थान रहेको छ । यो संरचनामा सेतो रङ लगाइएको छ ।

    भगवती मन्दिर
    उजीरिसंह थापाले बनाएको यो मन्दिरको छुट्टै विशेषता छ । आफ्ना साना फौजको प्रयोगद्वारा ब्रिटिस इण्डिया कम्पनीलाई पराजित गरेमा मन्दिर बनाउने भाकल गरी युद्धमा होमिएका उजिरिसंह थापाको फौजले तत्कालीन पाल्पाको जितगढीमा अङ्ग्रेजहरूलाई परास्त गर्न सफल भए पछि बनाइएको यो मन्दिरमा विजय उत्सवकै प्रतिस्वरूप प्रत्येक वर्ष भाद्र कृष्ण नवमीको दिन विशाल रथयात्रा उत्सव मनाइन्छ । वि.सं १९९० मा पुरानो मन्दिर भत्किएकाले यसको पुनर्निर्माण गरिएको इतिहासविद् निर्मल श्रेष्ठले जानकारी दिनुभयो ।

    amarnarayan_mandir.jpg

    अमरनारायण मन्दिर
    पाल्पा जिल्ला तानसेन नगरपालिकामा अवस्थित अमरनारायण मन्दिरलाई विष्णु मन्दिर पनि भनिन्छ । वि.सं १९६३ मा विष्णुका भक्त अमरसिंह थापाले सुन्दर बगैँचा र अटुट पानीको मुहान नजिकै निर्माण गरेका कलात्मक मन्दिर अमरनारायण मन्दिर हो । भाद्र कृष्ण अष्टमीका दिन जाग्राम बस्ने र नवमीका दिनमा रथ निकाली जात्रा गर्ने परम्परा रहेको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले जानकारी दिनुभयो ।

    amar.jpg

    तानसेन दरवार
    पाल्पा जिल्लामा अवस्थित ऐतिहासिक तथा पर्यटकीय महत्वको दरबार हो । पश्चिम कमाण्डर जनरल प्रताप शमशेरले प्रशासकीय कार्य सञ्चालन गर्न निजी प्रयोजनका लागि विसं १९६९ मा बेलायती शैलीमा बनाइएको छ । आधुनिक शैलीमा बनाइएको यस दरबारमा चार तला ६३ कोठा दुई बैठक कक्ष र दुई बुर्जा समेत छन् ।  पाल्पा दरबार संग्राहलयलाई विश्व सम्पदा सूचीमा पार्न तानसेन नगरपालिकाले पहल गरिरहेको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले जानकारी दिनुभयो । दरबारको सौन्दर्यीकरण गर्नकै निम्ति दरबार परिसरका घर टहरा भत्काइएको थियो ।

    Palpa_Darbar.jpg

    प्रभास ताल
    तानसेन नगरपालिका-७ मा अवस्थित धार्मिक तथा पर्यटकीय महत्त्वको ताल पौराणिक ताल हो । कमलका फूलहरू फुल्ने हुँदा यसलाई कमल पोखरी समेत भनिन्छ । यो तालमा सबै प्रमुख तीर्थ स्थलहरूको जल ल्याई राखिएको हुँदा यसलाई प्रभास क्षेत्रको रूपमा मान्ने चलन रहेको तानसेन नगरपालिका वडा नं ७ का वडा अध्यक्ष प्रदीप खनालले जानकारी दिनुभयो  । यसलाई व्यवस्थित बनाएर पर्यटकीय गन्तव्य बनाउन पहल गर्न जरुरी देखिन्छ ।

    parvas_tal.jpg

    यहाँ बाक्लो मगरबस्ती रहेको र विभिन्न जनजातिका आफ्ना–आफ्ना बेग्लाबेग्लै सांस्कृतिक पहिचान रहेका छन् । सालैजो, सोरठी, मारुनी, सरायनाच, बालुन, ख्याली, मालश्रीलगायतका लोक धुन तथा सांस्कृतिक प्रस्तुतिले यहाँको मौलिकतालाई जोगाएको छ । डाडाँकाडाँ उकालो ओरालो यहाँको प्राकृतिक, सांस्कृतिक र जैविक विविधताले भरिएको पाल्पाको तानसेन नगरपालिका साँच्चिकै सुन्दर र मनमोहक छ ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend