काठमाडौँ । शिक्षाविद्हरुले प्रस्तावित नेपाल विश्वविद्यालयलाई प्राविधिकसहित नयाँ पाठ्यक्रम गरि सञ्चालन गर्न सुझाव दिएका छन् ।
सिंहदरवारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरुले अन्य विश्वबिद्यालय भन्दा फरक ढंगले सञ्चालन गर्ने गरि नेपाल विश्वविद्यालय स्थापना गर्नुपर्ने सुझाव दिएका हुन् ।
बैठकमा शिक्षाविद् केदारभक्त माथेमाले अन्य विश्वविधालयमा धेरै कमजोरी देखिएकाले प्राविधिक पढेर ज्ञाता बन्न सक्ने गरि विश्वविधालय खोल्नुपर्ने बताउनुभयो । पढने र घोक्ने भन्दापनि नयाँ विश्वविद्यालयले आफ्नो विचार र नयाँ कुरालाइ स्थापित गर्ने वातावरण बनाइदिनुपर्ने उहाँले बताउनुभयो ।
त्यस्तै कानूनविज्ञ माधव पौडेलले नेपालमा भएका विश्वविद्यालयको ऐन संशोधन गर्न कठिन हुने भएकाले सबै समस्यालाई समाधान गर्ने गरि नेपाल विश्वविधालय स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै शिक्षाविद् डा.चैतन्य मिश्रले संसारका विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्नका लागि नयाँ विश्वविद्यालयलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभयो । बैठकमा समिति सदस्यहरुले नेपाल विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त हुने गरि कानून बनाउनुपर्नेमा जोड दिएका थिए ।