घोराही । विद्यार्थी शक्ति, राष्ट्र शक्ति भन्ने अभियानसहित अगाडि बढेको प्राज्ञिक विद्यार्थी परिषद् नेपाल लुम्बिनी प्रदेशको तीन दिने चौथो प्रदेश अधिवेशन दाङ घोराहीमा सम्पन्न भएको छ।
अधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथि अनन्तराज घिमिरे, परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय सचिव तिर्सना खराल, विशेष अतिथि हरि प्रसाद पाण्डे, प्रदेश अध्यक्ष कृष्ण प्रसाद न्यौपाने, नवनिर्वाचित प्रदेश सचिव मनिष बञ्जाडे, स्वागत समिति अध्यक्ष चन्द्र प्रकाश खनाल लगायतका विशेष व्यक्तिहरूको सहभागिता रहेको थियो ।
अधिवेशन उद्घाटन समारोहमा स्वागत मन्तब्य राख्दै हरि प्रसाद पाण्डेले राजनीतिक विकृति र विसंगतिले देशको शैक्षिक अवस्थामा नकारात्मक प्रभाव परेको उल्लेख गर्नुभयो । मातृभूमिप्रति ओतप्रोत हुने भावना अभिव्यक्त गर्न सबैलाई आग्रह गर्नुभयो। साथै वैदेशिक पलायन रोक्न देशमै उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा बोल्दै परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले राष्ट्रको भविष्य उजागढ गर्न समाज सेवामा लाग्न सुझाव दिनुभयो। देशको नागरिक सही नभएसम्म देशको शिक्षक, डाक्टर, राजनीतिज्ञ, सुरक्षाकर्मी सही हुन् नसक्ने उहाँले बताउनुभयो। राजनीतिक विचारलाई त्यागेर स्वतन्त्र रूपले देशको विकासमा लाग्न उहाँले सुझाव प्रदान गर्नुभयो । युवा शक्तिलाई जुन दिशा निर्देश गरिन्छ त्यसैमा लाग्ने हुँदा सही दिशा निर्देश गरिनुपर्ने उहाँको भनाई थियो।
राज्य संयन्त्रलाई मजबूत बनाउन शैक्षिक स्थितिमा सुधार ल्याउन आवस्यक छ त्यसको लागि स्वंम आफैंले कार्यपद्धति परिवर्तन गरी काम गर्नुपर्छ। भष्ट्राचार नियन्त्रण गर्न सबैको मानसिकतामा सुधार हुनुपर्छ। सोच परिवर्तनले मात्र सही नेतृत्व लिने उहाँको भनाइ थियो । साथै विदेशीको सोचलाई त्यागेर देशका सहिदहरुको विचारलाई अनुसरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यापन, अनुशासन र सम्मान शिक्षाका मूलमन्त्र भएकाले शिक्षालाई पहिलो प्राथमिकतामा राख्न उहाँले सुझाव दिनुभयो।
कार्यक्रममा बोल्दै अनन्त प्रसाद घिमिरेले व्यक्तिले कुनैपनि कुरालाई जुनदृष्टिकोणबाट हेर्ने गर्छ जीवन त्यस्तै देखिने तर्क उल्लेख गर्नुभयो । वैदेशिक पलायनबिना नेपालमा बसेर जीवन सम्भव छैन भन्ने भ्रम त्याग्न उहाँले सुझाव दिनुभयो। नेपालभित्र रहेका अनेकौं सम्भावनालाई हामीहरूले चिन्न आवस्यक रहेको उहाँले बताउनुभयो ।अध्यापन सँगसँगै सीप सिक्ने कार्यलाई प्राथमिकता दिन सबैलाई उहाँले आग्रह गर्नुभयो । सक्षम व्यक्ति विदेशिने असक्षम व्यक्तिले नेतृत्व गर्ने पद्धति परिवर्तन गर्न उत्पादनलाई मूल रूपले लिन आवस्यक रहेको उहाँले बताउनुभयो।
स्वागत समिति अध्यक्ष चन्द्र प्रकाश खनालले कार्यक्रममा बोल्दै निजी क्षेत्रबाट संकलित राजस्वबाट देश चलिरहेकाले सिस्टम पद्धतिलाई हेर्दा निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । कृषि, उद्योग, कलकारखाना, श्रम सहभागिताबाट देशको आर्थिक विकास,शैक्षिक अवस्थामा सुधार गर्न वैदेशिक पलायन र राजनीतिक अस्थिरतालाई रोक्न आवस्यक रहेको उहाँले तर्क उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै परिषद्का राष्ट्रिय सह-संगठन सचिव रमेश कँडेलले जीवन सिकाइ भएकाले प्राज्ञिक विद्यार्थी परिषदले व्यक्तिको सिकाई प्रारम्भ गर्ने उल्लेख गर्नुभयो । प्राज्ञिकको उदेश्य राष्ट्रिय पुननिर्माण गर्ने हो । विदेशी सोच लिएर राष्ट्र निर्माणमा लाग्दा समाजमा हिंसा र अराजकताले जन्म लिएको छ । शक्ति, विचार र चिन्तनको आधारमा सही व्यक्ति निर्माण गरि समाजमा परिवर्तन ल्याउने काममा प्राज्ञिक अगाडि बढेको उहाँले बताउनुभयो । दुनियाँलाई ज्ञान र सभ्यता सिकाउने क्षमता नेपालीहरुमा भएकाले जिम्मेवारीको आधारमा देशको आमूल परिवर्तनमा लाग्न उहाँले सुझाव दिनुभयो ।
हरेक कार्य गर्दा त्यसको वास्तविकता,उदेश्य बुझ्नु आवश्यक छ । राष्ट्रको सुन्दर भबिष्य निर्माण गर्नुभन्दा अगाडि स्वंम आफ्नो भविष्य सुन्दर बनाउन आवस्यक छ । दुर्व्यसनीमुक्त समाज निर्माण, बलत्कार हत्या हिंसा, भष्टाचारको अन्त्य, जातिय लैङ्गिक विभेद अन्त्य जस्ता समस्या समाधान केवल नाराले मात्र सम्भव छैन । त्यसको लागि जो कोहीपनि आचरणहिन व्यक्ति छ उसमा डर पैदा गर्न जरुरी छ । राजनीतिक हस्तक्षेपले समाजमा परेको प्रभाव रोक्न समाजमा बहस खडा गर्न आवस्यक छ ।
समाजमा भएका अनेकौं समस्याहरु क्याम्पस इकाइबाट नगर, नगरबाट जिल्ला, जिल्लाबाट प्रदेश, प्रदेशबाट राष्ट्रसम्म पुर्याइ समाधानमा ध्यान दिन जरुरी छ । समाजको प्रभाव नगरी आफूलाई परिवर्तन गर्ने, आफू योग्य भएर राष्ट्र निर्माणमा लाग्ने, शिक्षाका मुद्दाहरूको बहस खडा गर्ने, विद्यालय तथा विश्वविद्यालयमा हुने राजनीतिकरण, भागबन्डा,हस्तक्षेप रोक्न सामूहिक बहस खडा गर्ने, विदेशीको आधारमा तयार गरिने शिक्षानिति रोक्ने तथा राष्ट्रभक्ति विचार लिएर अगाडि बढनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा एक्काइस जनाले पेश गर्नुभएका प्रस्तावमध्ये चार जनाले पेश गर्नुभएका प्रस्ताव संशोधनको लागि पेश गरिएको नवनिर्वाचित लुम्बिनी प्रदेश सचिव मनिष बन्जाडेले जानकारी दिनुभयो । अधिवेशनमा करिब एक किलोमिटर लामो सडक र्याली लगाइएको तथा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो।
प्राज्ञिक विद्यार्थी परिषद् लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेको अध्यक्षता र कार्यक्रम संयोजक पूर्णजंग मल्ल, सह-कार्यक्रम संयोजक सरस्वती मल्ल,सह-कार्यक्रम प्रमुख पूर्णिमा बुढाथोकी,नियन्त्रक समीक्षा लामिछाने, सह-नियन्त्रक वीरेन्द्र डागी र शिवम् मिश्रको सञ्चालनमा आयोजित उक्त कार्यक्रममा केन्द्रिय कार्यकारिणी समितिका कार्यकर्ता, प्रदेश कार्यकारिणी समितिका कार्यकर्ता, जिल्ला टोलीका कार्यकर्ता, नगर इकाइ समितिका कार्यकर्ता, क्याम्पस इकाइ समितिका कार्यकर्ता, प्रमुख एबम पूर्व प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्तिम समापन सत्रमा बोल्दै लुम्बिनी प्रदेश सह-सङ्गठन सचिव हरिश बोहोराले उक्त कार्यक्रमको समापन गर्नुभएको थियो ।
