Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

समयमै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउन शिक्षामन्त्री श्रेष्ठको निर्देशन


१, चैत २०८०
  • 152
    SHARES
  • समयमै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउन शिक्षामन्त्री श्रेष्ठको निर्देशन

    भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिनुभएको छ ।

    भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आज अनुगमन गर्दै मन्त्री श्रेष्ठले कुनै पनि कक्षामा कुनै पनि विषयको पाठ्यपुस्तक अभाव हुन नहुने बताउनुभयो ।

    उहाँले जनक शिक्षा सामग्री केन्द्रमा पुगेर पुस्तक छपाइको अवस्थाबारे जानकारी लिनुका साथै पुस्तक छपाइ भइरहेका स्थानको अनुगमन एवं अवलोकन गर्नुभएको थियो । 

    मन्त्री श्रेष्ठलाई केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले पुस्तक छपाइको अवस्था र वितरणको प्रक्रियाबारे जानकारी गराउनुभएको थियो । मन्त्री श्रेष्ठले भन्नुभयो, “पाठ्यपुस्तक छपाई समयमै सम्पन्न हुनुपर्यो, पाठ्यपुस्तक समयमै विद्यार्थीको हातहातमा पुर्याउनु होला ।”

    केन्द्रका प्रबन्ध निर्देशक झाले मन्त्री श्रेष्ठलाई भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाड्यपुस्तक पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “९५ प्रतिशत पाठ्यपुस्तक छपाइ सम्पन्न गरिसकेका छौँ, यही चैत १५ गतेभित्र बाँकी पाँच प्रतिशत पुस्तक पनि छपाइ सम्पन्न गर्छौँ, चैत १५ गतेदेखि नै पुस्तक वितरण थाल्छौँ, शैक्षिकसत्र सुरु हुदाँसम्म पूरै सेटमा सबै कक्षाका पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुर्याउँछौँ ।”

    आउँदो शैक्षिकसत्रका लागि केन्द्रले एक करोड ७५ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्नेमा एक करोड ५७ लाख थान छापिसकेको र बाँकी १८ लाख थान पुस्तक १५ दिनभित्रमा छपाइ सम्पन्न गरेर वितरण गर्न सुरु गर्ने प्रबन्ध निर्देशक झाले बताउनुभयो । 

    केन्द्रले आउँदो शैक्षिकसत्रका लागि कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको थियो । चालु शैक्षिकसत्रका लागि गत वर्ष चैतमै कक्षा ६ देखि १२ सम्मको पुस्तक छपाइ गरेर शैक्षिकसत्र सुरु हुनेबित्तिकै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउन सफल भएपछि यस वर्ष सरकारले केन्द्रलाई कक्षा ५ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिएको हो ।  

    प्रबन्ध निर्देशक झाले यस वर्ष कुनै पनि कक्षाको कुनै पनि विषयको पुस्तक अभाव हुन नदिने र गत वर्षजस्तै सेटमै पुस्तक उपलबध गराउने बताउनुभयो । उहाँले पुस्तक छपाइका लागि आवश्यक कागज, मसीलगायत कच्चा पदार्थ पर्याप्त मात्रामा खरिद गरेर राखेको र पुस्तक छपाइको काम दुई सिफ्टमा सातै दिन, २४सैँ घण्टा चलिरहेको जानकारी दिनुभयो ।

    पहिलो प्राथमिकता हिमाली क्षेत्र, दोस्रोमा पहाडी क्षेत्र र तेस्रोमा तराईमा तथा अनि मात्र उपत्यकामा पुस्तक वितरण गरिने छ । केन्द्रबाहेक उपत्यका बाहिरका नौवटा आउटलेटबाट पुस्तक वितरण गरिने प्रबन्ध निर्देशक झाले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “हामीले अहिले २४सै घण्टा दैनिक एक लाख थान पुस्तक छपाइ गरिरहेका छौँ, २४सै घण्टा पुस्तक पछाइको काम भइरहेको छ । छपाइ सकिएका पुस्तक सातैवटै प्रदेशका केन्द्रका प्रादेशिक कार्यालयको गोदाममा पुर्याउने काम भइरहेको छ । गत वर्षजस्तै यस वर्ष पनि हामी चैतदेखि पुस्तक वितरणको काम सुरु गर्छौँ र समयमै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउँछौँ ।”

    शिक्षा मन्त्रालयले यस वर्षको पुस्तक छपाइका लागि कक्षा १ देखि ४ सम्म निजी क्षेत्रका छापाखानालाई छपाइ तथा वितरणको जिम्मेवारी दिएको छ । प्रबन्ध निर्देशक झाले कक्षा १ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिन सरकारसँग माग गरेको भए पनि कक्षा ५ देखिको जिम्मेवारी पाएको बताउनुभयो । 

    आगामी वर्षदेखि सरकारले कक्षा १ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिए पनि केन्द्रले फागुनभित्रै पुस्तक पछाइ सम्पन्न गरेर चैतमा वितरण सम्पन्न गर्न सक्ने उहाँको भनाइ छ । 

    सरकारले गत वर्ष निजी क्षेत्रका छापाखानालाई कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा दिए पनि यस वर्ष त्यसलाई खुम्च्याउँदै कक्षा ५ को पुस्तक छपाइको जिम्मेवारी निजी क्षेत्रलाई नदिई केन्द्रलाई दिएको हो ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend