Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अन्नपूर्ण पदमार्गको एकीकृत गुरुयोजना बनाउन सुरु


२, चैत २०८०
  • 198
    SHARES
  • अन्नपूर्ण पदमार्गको एकीकृत गुरुयोजना बनाउन सुरु

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा पर्यटन विकासमा लागि एकीकृत गुरुयोजना तयार गरिने भएको छ ।

    अन्नपूर्ण प्रथम आधार शिविर र पदमार्ग क्षेत्रमा व्यवस्थित पूर्वाधार निर्माणका लागि एकीकृत गुरुयोजना बनाउन लागिएको हो ।

    सर्वेक्षक, स्टक्ट्रचरल इन्जिनियर, पर्यटनकर्मी, भूगर्भविद्, वातावरणविद्, जनप्रतिनिधि र कर्मचारीसमेतको टोलीले स्थलगत अवलोकन, निरीक्षण गरेर गुरुयोजनाको प्रारम्भिक काम सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

    उहाँको नेतृत्वमा गएको टोलीले तीन दिन लगाएर गुरुयोजनाको लागि स्थलगत अध्ययन सकेर प्रतिवेदन तयार गर्ने तयारीमा रहेको गाउँपालिकाले जनाएको छ ।

    एकीकृत गुरुयोजनामा आधार शिविरमा रहेको पञ्चकुण्ड ताल परिसर र भुसकेटमेलामा लज निर्माण गर्ने योजना समेटिएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको रु ५० लाख बजेटबाट लजको पूर्वाधार बनाउन सुरु गरिने भएको छ ।

    गाउँपालिकाले अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रको पर्यटन पूर्वाधार निर्माणलाई व्यवस्थित र योजनाबद्ध गर्नका लागि एकीकृत गुरुयोजना बनाएर अघि बढ्न लागेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो ।

    “गुरुयोजनामा समेटिएका पूर्वाधारलाई गाउँपालिका, प्रदेश र सङ्घीय सरकार तथा पर्यटन बोर्डलगायतका निकायसँग साझेदारी र सहकार्य गरेर निर्माण गर्ने योजना बनाएका छौँ, यस वर्ष होटल निर्माण भएपछि आधार शिविरमा खाना बस्नको सुविधा पुग्छ”, उहाँले भन्नुभयो ।

    गुरुयोजनामा ताल परिसरमा रहेको मन्दिरको व्यवस्थापन गर्ने, अन्नपूर्ण हिमालको पहिलो आरोही मौरीस हर्जोगको सालिक स्थापना गर्ने, शौचालय र खानेपानीको सुविधा पुर्‍याउने, आरोहीको सुविधाका लागि गोदाम घर बनाउने योजनासमेत अध्ययन गरिएको छ ।

    त्यसैगरी पदमार्गअन्तर्गत सुनखोलामा आश्रयस्थल थप गर्ने, गुफाफाँट र साँधिखर्कमा रहेको आश्रयस्थलको क्षमता विस्तार गरी खानेपानी, शौचालयलगायतका पूर्वाधार थप गर्ने, सबै आश्रयस्थलमा सोलार सुविधा पुर्‍याउने योजना बनाइएको छ ।

    गुरुयोजनामा पदमार्गको आकर्षणको रुपमा रहेको फुतफुते झरनालाई व्यवस्थित गर्ने, झरनाको पानी बगेर जाने खोलामा आर्क प्रविधिको पुल बनाउने, झरना परिसरमा रक गार्डेन बनाउने र कफी सप सञ्चालनको लागि पूर्वाधार बनाउने योजनालाई समावेश गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।

    गुरुयोजनामा नारच्याङमा पर्यटन सूचना केन्द्र बनाउने, प्रवेशद्वारलाई पर्यटक प्रवेशद्वारको रुपमा व्यवस्थित गर्ने योजनालाई समेत समावेश गरिएको छ भने हुमखोला, साँधिखर्क र भुस्केटमेलाको झोलुङ्गे पुललाई व्यवस्थित गर्ने, सुनखोला र नजिकैको खहरेमा समेत पूर्वाधार निर्माण गर्ने, आकासे गुफाको पहिरो रोकथाम र नियन्त्रण गर्ने योजनालाई समेत समावेश गरिएको छ ।

    गाउँपालिकालाई पर्यटन बोर्डले समेत रु तीन करोड बराबरको पर्यटन पूर्वाधारका योजना माग गरेकाले यसै पदमार्गका पर्यटन पूर्वाधारका योजनालाई नै सिफारिस गर्ने गाउँपालिकाले जनाएको छ ।

    अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्ग र आधार शिविर क्षेत्रको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको गउाँपालिकाले नारच्याङमा घरबास र पर्यटक पथ प्रदर्शक तालिम सञ्चालन गर्ने तयारी गरेको छ ।

    एकीकृत गुरुयोजना निर्माण गर्न गाउँपालिकाले यस वर्ष रु १५ लाख बजेट विनियोजन गरेको थियो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्न नारच्याङ गाउँदेखि मौरिस हर्जोग पदमार्ग सञ्चालमा छ।

    सन् १९५० जुन ३ तारिकका दिन अन्नपूर्ण प्रथममा पहिलो मानव पाइला परेको थियो । फ्रान्सेली हिमाल आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पहिलो आरोहण गरेर इतिहास रचेका थिए ।

    हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विसं २०६८ मा ‘मौरिज हर्जोग पदमार्ग’ को पहिचान गरिएको थियो । नारच्याङदेखि अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ ।

    हुमखोलादेखि आधार शिविरसम्मको १६ किलोमिटर दूरीमा आठ किलोमिटर व्यवस्थित पदमार्ग निर्माण भएको छ भने पाँच किलोमिटर पदमार्ग मर्मत र तीन किलोमिटर पदमार्ग नयाँ निर्माण गर्नुपर्ने छ ।

    सडक र पदमार्गका पूर्वाधार बनेर यात्राअवधि छोटिएको भए पनि पर्यटकको सुविधाको लागि होटल, लज, खानेपानी, शौचालयलगायतको सुविधा नभएपछि गाउँपालिकाले एकीकृत गुरुयोजना बनाएर पूर्वाधार निर्माणमा जुटेको गाउँपालिका अध्यक्ष पुनको भनाइ छ । 

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend