Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै


१, जेठ २०८१
  • 203
    SHARES
  • हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै

    गण्डकी । पृथ्वी राजमार्ग अन्तरगत पोखरा महानगरपालिका–३२ स्थित लामेआहाल, कालिका नगर र मजुवाबीचको रमणीयडाँडा झट्ट हेर्दा ठ्याक्कै हेल्मेट जस्तो छ । जङ्गलै जङ्गलले ढपक्क ढाकिएको हेल्मेट जस्तै भएकाले यसलाई हेल्मेट डाँडाका रुपमा लिइन्छ ।

    डाँडाको प्राकृतिक सुन्दरतासँगै विभिन्न पर्यटकीय पूर्वाधार विकास गरी स्थानीयले यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोच अघि बढाएका छन् । पोखरा पर्यटनको राजधानी भइसकेको अवस्थामा आसपासका क्षेत्रमा पर्यटकीय गतिविधि बढाउँदै पर्यटकको बसाइँ लम्ब्याउने विषयले चासो र चर्चा पाइरहेका अवस्थामा हेल्मेटडाँडाको पर्यटकीय विकासको योजनालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    प्रकृतिको बरदान हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकिएको स्थानीय समाजसेवी एवं प्रगतिशील सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भुवानीप्रसाद पौडेलले बताए । समितिको अनुरोधमा पोखरा विश्वविद्यालयका प्रा.डा गोविन्दप्रसाद लामिछानेको सहयोगमा डिपिआर तयार गरिएको उनले जानकारी दिए ।

    “हेल्मेट डाँडासँगै यहाँ नजिकैको कालिका मन्दिर, स्यान्थुम्की समेतलाई समेटेर हामीले पर्यटकीय पूर्वाधार विकास गर्ने योजना राखेका छौंँ”, उनले भने, “लक्षित सबै पूर्वाधार विकासका योजना सम्पन्न गर्न रु बीस करोड ५९ लाख ८५ हजार चार सय ६८ लाग्ने अनुमान गरिएको छ ।”

    उनका अनुसार हेल्मेट डाँडाको शिरमा बुद्धमूर्ति निर्माण गर्नका लागि आठ तल्ला उचाइको स्तम्भ स्वरुपमा संरचना निर्माण गरिने छ । सबैभन्दा माथि ७५ फिट उचाइको बुद्धको मूर्ति रहने छ । उक्त मूर्ति प्रत्येक पाँच मिनेट समयावधिमा तीन सय ६० डिग्रीमा घुम्ने प्रा.डा गोविन्दप्रसाद लामिछानेले जानकारी दिए ।

    बुद्ध मूर्तिको तल ३५ मिटरको उचाइमा आठ तल्लाको संरचना रहने छ । उक्त संरचना निर्माण हुने भएका कारण वरपरका कुनै पनि रुख काट्नु नपर्ने लामिछानेको भनाइ छ । टावरको आठौँ तल्लामा पानी ट्याङ्की रहने र भूई तल्लामा टिकट काउन्टरको व्यवस्था गरिने छ । बीचका छ वटा तल्ला व्यापारिक प्रयोजनका हुने गरी निर्माण गरिने अध्यक्ष पौडेलले जानकारी दिए । टावरको स्वरुपमा रहे पनि त्यसलाई आकर्षक बनाउने गरी योजना गरिएको छ ।

    उत्तरतर्फ पृथ्वी राजमार्गको भागतर्फ स्तम्भसँगै स्काइ स्वीमिङ पुल निर्माण गर्ने योजना छ । सिसैसिसाको उक्त स्वीमिङ पुल कुनै टेकोबिना नै हावामा अडिएको जस्तो गरी निर्माण गरिने उनले बताए ।

    त्यस्तै हेल्मेट डाँडाबाट नजिकैको कालिका मन्दिरसम्म तीन सय ५० मिटर दूरीको जिपलाइन निर्माण गरिने छ भने कालिका मन्दिरबाट स्यान्थुम्कीसम्म ५५ मिटर लम्बाइको रोप साइक्लिङ निर्माण गरिने छ । कालिका मन्दिर र स्यान्थुम्कीलाई घुम्ने गरी चिल्ड्रेन ट्रेलसमेत निर्माण गरिने पौडेलले जानकारी दिए ।

    उनका अनुसार हेल्मेट डाँडाको फेदीबाट छ फिट चौडाइको तीन हजार तीन सय मिटरको पदयात्रा मार्ग निर्माण गरिने तयारी गरिएकामा यस आर्थिक वर्षमा महानगरपालिको रु २५ लाखको सहयोगमा पदयात्रा मार्ग निर्माणका लागि ठेक्का प्रक्रियामा अघि बढेको छ ।

    हेल्मेट डाँडासँग नजिकै रहेको कालिका मन्दिर यस क्षेत्रको एक सय वर्षभन्दा अघिदेखिको इतिहासको साक्षी पनि हो । कालिका नगरस्थित यो धार्मिक पर्यटकीय तीर्थस्थल यहाँका कालिका चोक, म्याग्दी टोल, टाँडी, तल्लो गगनगौँडा, बेलबुटे, स्कुल टोल लामेआहाललगायत आसपासका क्षेत्रको आस्था र विश्वासको केन्द्र रहेको यहाँका स्थानीय बताउँछन् ।

    मनले चिताएको पुग्ने तीर्थस्थलका रूपमा चासो र चर्चा कमाएको यो स्थलसँगै हेल्मेटडाँडा, स्यान्थुम्कीलाई समेटेर गर्न लागिएको पर्यटकीय विकासले पोखरामा पर्यटकको बसाइँ थप एक दिन लम्ब्याउन सकिने सरोकारवाला बताउँछन् । कालिका मन्दिरको निर्माणसँगै मन्दिर परिसरको केही तल व्यायामशाला बनाउने लगायतका सोच अघि सारिएको सोच राखिएको वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए ।

    “यही कालिका मन्दिर परिसरमा नै गर्ग ऋषिले तपस्या गर्नुभएको विश्वास छ”, उनले भने, “यहाँका धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्दै धामिर्क पर्यटकीय गन्तव्यका रुपमा यस क्षेत्रको विकास गर्ने हाम्रो लक्ष्य हो ।” कालिका मन्दिरमा प्राचीनकालदेखि पूजाआजा गरिँदै आइएको तीर्थस्थल हो ।

    बढ्दो बस्ती विकाससँगै विसं १९८० मा समाजसेवी स्व भीमबहादुर बस्नेतको सक्रियतामा स्थानीयको सुख, शान्ति र समृद्धिको कामनासहित कालिका मन्दिरको स्थापना भएको र त्यसलाई थप व्यवस्थित मुखिया चन्द्रबहादुर बस्नेतले गरेको बुढापाकाबाट सुन्दै आएको स्थानीय समाजसेवी एवं कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिमला थापा बस्नेत बताउछिन ।

    यस मन्दिरलाई स्थापनायता समाजका हरेक व्यक्ति, सङ्घसंस्था एवं समूहको साझा प्रयासमा व्यवस्थित गर्दै महत्वपूर्ण तीर्थस्थलका रूपमा विकास गर्दै आएको उनको भनाइ छ । समय सापेक्षता यहाँस्थित पुरानो मन्दिरको स्थानमा व्यवस्थित नयाँ मन्दिर बनाउनुपर्ने आवश्यकता महसुस गरी वडा नं ३२ बाट रु १५ लाख विनियोजन भएर काम सुरु गरिएको निर्माण समितिका अध्यक्षसमेत रहेका उनले जानकारी दिए ।

    वडाबाट प्राप्त उक्त रकमले मात्रै हाम्रो योजनाअनुसार मन्दिर बन्ने उल्लेख गर्दै उनले यसका लागि करिब रु २८ देखि ३० लाखसम्म खर्च लाग्नसक्ने अनुमान गरिएको जानकारी दिए । निर्माणाधीन मन्दिरमा वडास्थित आमा समूह, टोल सुधार संस्था, स्थानीय बुद्धिजीवी सबैको जनश्रमदानसमेत गरी निर्माण कार्यलाई अघि बढाइएको छ ।

    मन्दिर निर्माणका लागि वडा कार्यालयले रु १५ लाख विनियोजन गरेसँगै जनसहभागितास्वरुप रु एक लाख ७७ हजार जम्मा गरेर योजना सम्झौता भई काम अघि बढेको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष एवं निर्माण समितिका कोषाध्यक्ष खमबहादुर पुनले जानकारी दिए ।

    उनका अनुसार १६ वर्ग स्क्वायर फिटको परिसरभित्र तीनतलाको मन्दिर निर्माण गर्न लागिएको हो । त्यसअन्तर्गत ११ स्क्वायर फिटमा पहिलो तला बन्नेछ । यसको उचाइ नौ फिटको हुनेछ । दोस्रो तला सात वर्ग स्क्वायर फिटमा छ फिट उचाइको हुनेछ भने तेस्रो तला चार वर्ग स्क्वायर फिटसहित चार फिट उचाइमा हुनेछ ।

    मन्दिरमा भक्तपुरका कालीगढले बनाएका कलात्मक झ्यालढोका राखिने उनले बताए । मन्दिरमा भक्तपुरे कालीगढले बनाएको एक ढोकासहित १० वटा आँखी झ्याल राखिने छन् । त्यसअन्तर्गत पहिलो तलामा ढोका र दुई झ्याल रहने छन् । दोस्रो र तेस्रो तलामा चार–चार झ्याल रहने छन् ।

    आगामी वर्ष वडा कार्यालय र महानगरपालिकाको सहयोगमा तेस्रो तल्लामा कालिका देवीको मूर्ति कुँदिएका कलात्मक टुँडालका साथै पित्तलको छाना राख्ने योजना रहेको उनले जानकारी दिए । पृथ्वी राजमार्गअन्तर्गत लामेआहालबाट करिब तीन सय मिटर उचाइमा रहेको रमणीय थुम्कोमा रहेका कारण पोखराको विन्दवासिनी, भद्रकाली, पृथ्वी राजमार्गमा पर्ने अकला मन्दिर जस्तै यो स्थल धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्ने विश्वास लिइएको छ ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend