काठमाडौँ । शैक्षिक सत्र २०८० मा काठमाडौँ महानगरपालिकाका निजी विद्यालयमा करिब डेढ लाख विद्यार्थी भर्ना भएका छन् ।
काठमाडौँ महानगरले दिएको जानकारी अनुसार १ लाख ४९ हजार ९५६ विद्यार्थी भर्ना भएकामध्ये १८ हजार ४२२ जनाले छात्रवृत्ति पाएका छन् ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कानुनको पालना मात्र गराउँदा करिब २ अर्ब बराबरको छात्रवृत्ति उपलब्ध भएको भन्दै खुसी व्यक्त गरेका छन् । उनले भनेका छन्– हामीले विद्यमान कानुनको कार्यान्वयन गर्दा मात्रै लक्षित वर्गका विद्यार्थीहरुलाई करिब २ अर्ब बराबरको छात्रवृत्ति उपलब्ध गराउन सफल भयौँ ।
प्राप्त भएको विवरणको हामी अनुगमन गर्नेछौ , फरक पाइएमा कानुन बमोजिम कारबाही हुनेछ । हालसम्म विवरण नबुझाउने विद्यालयलाई ३ दिनको समय दिई विवरण पेस गर्नका लागि सार्वजनिक सूचना प्रकाशन गरेका छौ ।
३ दिन भित्र विवरण पेस नगर्ने विद्यालयहरू बन्द विद्यालयको रूपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गर्ने मेयर शाहले बताए ।