काठमाडौं l लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
शनिबार मुख्यमन्त्री आचार्य स्वयं ओली निवास पुगेर अध्यक्ष ओलीलाई भेट्नुभएको हो । भेटका क्रममा उहाँले दिवंगत मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको थियो ।
साथै उहाँले यो दुःखद घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना पनि गर्नुभयो । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको शुक्रबार ९७ वर्षको उमेरमा निधन भएको हो । उहाँको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूबाट श्रद्धाञ्जली व्यक्त गर्ने क्रम जारी रहेको छ ।
श्रद्धाञ्जली अर्पण गर्न लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीसगै मन्त्रीहरू भौतिक पूर्वाधार मन्त्री भुमिस्वर ढकाल,आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, भूमि तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम बहादुर सारु, जलस्रोत तथा सिँचाइमन्त्री सिता शर्मा चौधरी लगायत एमालेका नेता-कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।