बुटवल । २० औँ लोकतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा विशेष नागरिक संवाद कार्यक्रम आयोजना गरेको छ । “सद्भाव प्रवर्द्धन, विधिको शासन र लोकतन्त्रको संरक्षण” विषयमा केन्द्रित उक्त कार्यक्रमले लोकतन्त्रको वर्तमान अवस्था, चुनौती र सुधारका आयामबारे गहिरो बहसलाई उजागर गरेको थियो ।
कार्यक्रममा शान्ति समाजद्वारा प्रस्तुत अवधारणा पत्रमाथि अधिकारकर्मी, प्राध्यापक, वकिल, राजनीतिक दलका प्रतिनिधि, युवा अभियन्ता तथा पत्रकारहरूबीच प्राज्ञिक र सारगर्भित छलफल भएको थियो । सहभागीहरूले लोकतन्त्रलाई केवल राजनीतिक प्रणालीको रूपमा नभई नागरिक जीवनसँग प्रत्यक्ष जोडिएको मूल्य प्रणालीका रूपमा बुझ्नुपर्नेमा जोड दिएका थिए ।
वक्ताहरूले लोकतन्त्रको सुदृढीकरणका लागि विधिको शासन, कानुनी राज्यको प्रभावकारी कार्यान्वयन, राजनीतिक दलबीच स्वस्थ प्रतिस्पर्धा तथा समाज र राजनीतिबीचको सुदृढ सम्बन्ध अपरिहार्य रहेको धारणा राखेका थिए । उनीहरूले लोकतन्त्रप्रति नागरिकको विश्वास कायम राख्न पारदर्शिता, उत्तरदायित्व र संस्थागत सुधारमा विशेष ध्यान दिनुपर्ने औंल्याएका थिए ।
कार्यक्रममा शान्ति समाजका पूर्व केन्द्रीय सभापति गोविन्द खनाल, प्राध्यापक संघ नेपालका पूर्व अध्यक्ष डा. बुद्धबहादुर थापा, राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख सन्तोष आचार्य, उच्च अदालत बुटवल बारका अध्यक्ष गोविन्द मरासिनी, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता राजन पाण्डे, नेपाली कांग्रेसका नेता प्रजापाल गिरी, नेकपा एमालेका नेता बाबुराम पन्थी, नेकपाका नेता महेन्द्र भुसाल, रिपोर्टर्स क्लब लुम्बिनीका अध्यक्ष रामकुमार क्षेत्री, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष बिमलराज भट्टराई, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री, जेन्जी अभियन्ता ममता कार्की, गैरसरकारी संस्था महासंघ रुपन्देहीकी सचिव सावित्रा घिमिरे तथा पत्रकार रुद्रहरी कुँवरलगायतले धारणा व्यक्त गरेका थिए ।
शान्ति समाज रुपन्देहीका सभापति अर्जुन ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपसभापति कृष्ण पाण्डेले गर्नुभएको थियो भने निवर्तमान सभापति कृष्ण भट्टराईले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन काश सीता पौडेलले गर्नुभएको थियो ।