काठमाडौँ । बक्सअफिसमा ९ करोड ३१ लाख रुपैयाँभन्दा बढीको व्यापार गर्दै कतिपय हलमा ५१ औं दिन मनाउन सफल नेपाली फिल्म ‘लालीबजार’ले आफ्नो सफलताको खुसीयाली साटेको छ ।
सोमबार साँझ राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरी फिल्म युनिटले कलाकर्मीहरूको माझ केक काटेर खुसी बाँडेको हो ।
उक्त सेलिब्रेसन कार्यक्रममा वरिष्ठ कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, वरिष्ठ अभिनेत्रीहरू चैत्यदेवी सिंह, बसुन्धरा भुसाल र भुवन चन्द लगायत थुप्रै चलचित्रकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा फिल्मलाई सफल बनाउन योगदान दिने निर्माण युनिटलाई कदरपत्र समेत वितरण गरिएको थियो ।
रिलिजको समयमा वादी समुदायको विरोध र अदालतको रिटसम्मको झमेला सामना गरेको यस फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा छिन् ।
सुरुमा वैशाख १८ गते प्रदर्शन हुने भनिए पनि विभिन्न प्राविधिक तथा व्यावहारिक कारणले वैशाख २५ गते मात्र रिलिज भएको यस फिल्मको सेलिब्रेसन कार्यक्रममा स्वस्तिमाले स्टेजमै छमछमी नाचेर माहोललाई थप रमाइलो बनाएकी थिइन् ।
यम थापाको निर्देशनमा तयार भएको यस फिल्मका निर्माता म्याक्स दिपेश खत्री हुन् भने फिल्ममा रवीन्द्रसिंह बानियाँ र प्रदिप भट्टराई लगायतका कलाकारहरूको अभिनय रहेको छ ।