सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णालीमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ लाई भव्य, व्यवस्थित र सफल बनाउन तयारी तीव्र पारेको छ। प्रतियोगिता नजिकिँदै जाँदा प्रदेश सरकारले खेल पूर्वाधारदेखि खेलाडीको आवास, प्रशिक्षण तथा व्यवस्थापनसम्मका कामलाई प्राथमिकतामा राखेर अघि बढाएको हो।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा हुने प्रतियोगिताका लागि वीरेन्द्रनगरमा गठित मूल आयोजक समितिको सचिवालय उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रतियोगिता सफल बनाउन प्रदेश सरकार केन्द्रित भएर काम गरिरहेको बताए।
मुख्यमन्त्री शाहीले प्रतियोगिता सञ्चालनका क्रममा देखिन सक्ने अपुगता पहिचान गरी त्यसलाई समयमै सम्बोधन गर्ने काम भइरहेको जानकारी दिए। उनका अनुसार खेल पूर्वाधारको तयारी, खेलाडीका लागि आवास व्यवस्थापन, प्रशिक्षण तथा अन्य आवश्यक संरचना र सेवाको तयारीलाई तीव्रता दिइएको छ।
“प्रतियोगिता सञ्चालनमा हुने अपुगतालाई पूरा गर्नेतर्फ जोड दिएका छौँ,” मुख्यमन्त्री शाहीले भने, “खेल पूर्वाधार, खेलाडीहरूको लागि आवासको व्यवस्थापन, प्रशिक्षणलगायतका गतिविधिहरू अगाडि बढिरहेका छन्।”
उनले प्रतियोगिता सफल बनाउन आवश्यक काम युद्धस्तरमा अघि बढिरहेको उल्लेख गर्दै प्रदेश सरकार दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा गर्न प्रतिबद्ध रहेको बताए। कर्णालीमा पहिलोपटक हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रदेशको खेलकुद विकाससँगै पर्यटन र आर्थिक गतिविधिसँग जोडेर हेर्नुपर्ने उनको भनाइ छ।
सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीका लागि ठूलो अवसर भएको बताए। खेल क्षेत्रको महापर्व सुरु भइसकेको भन्दै उनले प्रतियोगितालाई सफल बनाउन प्रदेश सरकारसँगै स्थानीय तह, निजी क्षेत्र, खेलकर्मी, नागरिक समाज र अन्य सरोकारवालाले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए।
प्रतियोगिताका लागि आवश्यक तयारी पूरा गर्ने क्रममा कर्णालीका विभिन्न जिल्लाको वस्तुस्थिति, उपलब्ध पूर्वाधार तथा भइरहेका गतिविधिबारे निरन्तर जानकारी लिने र आवश्यक समन्वय गर्ने काम भइरहेको मन्त्री मल्लले बताए।
यसैबीच, प्रतियोगितामा सहभागी हुने खेलाडी तथा पाहुनाको आवास व्यवस्थापनलाई पनि विशेष प्राथमिकता दिइएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष तथा आवास व्यवस्थापन समितिका संयोजक प्रमोद हमालका अनुसार खेलाडीका लागि सुर्खेत तथा आसपासका होटल, रेस्टुरेण्ट र होमस्टेको तथ्याङ्क सङ्कलन गरिएको छ।
उनका अनुसार प्रतियोगिताका क्रममा नेपाल सरकारका विशिष्ट पाहुनाका लागि शुभ र सिद्धार्थ होटल छनोट गरिएको छ। सहभागी खेलाडी, प्रशिक्षक तथा अन्य टोलीका सदस्यको सुविधालाई ध्यानमा राखेर उपलब्ध आवासको क्षमता र सेवासम्बन्धी विवरणसमेत व्यवस्थित गरिएको उनले बताए।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीका लागि केवल खेलकुद प्रतियोगिता मात्र नभई प्रदेशको पहिचान स्थापित गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। प्रतियोगितामा देशभरका खेलाडी तथा खेलकर्मीको सहभागिताले कर्णालीको खेलकुद पूर्वाधार, पर्यटन, आतिथ्य र स्थानीय उत्पादनको प्रवद्र्धनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
प्रतियोगिता सफल बनाउन अब बाँकी समयको अधिकतम उपयोग गर्दै तयारीलाई थप तीव्रता दिनुपर्ने चुनौती प्रदेश सरकारसामु छ। त्यसका लागि पूर्वाधार निर्माण तथा मर्मत, खेलाडीको आवास, यातायात, सुरक्षा, स्वास्थ्य, प्रशिक्षण र व्यवस्थापनका सबै पक्षलाई एकीकृत रूपमा अघि बढाउने तयारी गरिएको छ।
कर्णाली सरकारले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई कर्णालीको गौरव र राष्ट्रिय खेलकुदको नयाँ अध्यायका रूपमा सफल बनाउने लक्ष्यसहित तयारी अघि बढाएको जनाएको छ।