चितवन । काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी भार बोकेका सवारीसाधनको निगरानी गर्ने एकमात्र तौल स्टेसन तीन महिनादेखि बन्द हुँदा सडक सुरक्षामाथि थप जोखिम बढेको छ ।
भरतपुर महानगरपालिका–१ आँपटारीस्थित तौलपुल स्टेसनको बिम भाँचिएपछि गत असार १२ गतेदेखि सञ्चालनमा आउन सकेको छैन । तौल स्टेसन बन्द हुँदा निर्धारित क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनको निगरानी तथा नियन्त्रण कमजोर बनेको स्टेसनका कम्प्युटर अपरेटर सरोज रानाले बताए ।
स्टेसन सञ्चालनमा रहँदा क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनको तौल परीक्षण गरी आवश्यक कारबाही गरिँदै आएको थियो । तर, अहिले तौलपुल नै सञ्चालनमा नहुँदा ओभरलोड नियन्त्रणसँगै सडकको दीर्घकालीन संरक्षण र यात्रुको सुरक्षामा समेत चुनौती थपिएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड आफैँमा भौगोलिक रूपमा जोखिमयुक्त मानिन्छ । पछिल्लो समय सडक भासिने, पहिरो जाने तथा जोखिमयुक्त स्थान बढ्दै गएका छन् । सिमताल क्षेत्रमा सडक भासिएपछि केही समय यातायात एकतर्फी सञ्चालन गर्नुपरेको थियो । सडकमा बढ्दो जोखिमका बीच ओभरलोड सवारीसाधनको प्रभावकारी निगरानी नहुँदा समस्या थप जटिल बन्न सक्ने देखिएको छ ।
तौल स्टेसन सञ्चालनमा हुँदा त्यहाँ ट्राफिक प्रहरीको समेत नियमित उपस्थिति रहने गरेको थियो । स्टेसनमा प्रहरीको पोस्टिङका लागि समेत प्रतिस्पर्धा हुने गरे पनि स्टेसन बन्द भएपछि ट्राफिक प्रहरीको उपस्थिति हटेको छ । यसले सवारीसाधनको तौल परीक्षणसँगै सडक अनुशासनको निगरानीमा समेत असर परेको छ ।
नारायणगढ–मुग्लिन सडकमा दुर्घटना न्यूनीकरण तथा बढी भार बोकेका सवारीसाधन नियन्त्रण गर्ने उद्देश्यले सरकारले २०७७ सालमा एक करोड २१ लाख ७३ हजार ६६५ रुपैयाँ लागतमा तौलपुल निर्माण गरेको थियो ।
८० टन क्षमताको उक्त तौलपुल १८ मिटर लामो छ । सवारीसाधनको भार क्षमता मापन गर्न स्टेसनमा इलेक्ट्रो–मेकानिकल कन्ट्रोल रुमसमेत व्यवस्था गरिएको थियो ।
मुख्य राजमार्गमा सञ्चालन हुने मालवाहक सवारीसाधनको भार नियन्त्रणका लागि निर्माण गरिएको संरचना लामो समयसम्म बन्द रहँदा यसको प्रभाव सडकको अवस्था, दुर्घटना जोखिम र सडकको आयुसम्म पुग्न सक्ने सरोकारवालाको भनाइ छ । त्यसैले बिग्रिएको तौलपुल तत्काल मर्मत गरी सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता देखिएको छ ।