काठमाण्डौँ । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले बिहीबार फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दै छ। साफ च्याम्पियनसिपको कमजोर तयारीबीच नेपाल तुलनात्मक रूपमा बलियो फिलिपिन्ससँग आफ्ना कमजोरी पता लगाउने प्रयासमा मैदान उत्रिने छ।
फिलिपिन्ससँग उसैको घरेलु मैदान रिजल मेमोरियल स्टेडियममा आज अपरान्ह ४:४५ बजे शुरु हुने खेलमा उसलाई हराएर प्रारम्भिक आलोचनालाई मथ्थर गर्ने प्रयासमा हुने छ। नेपाल र फिलिपिन्ससँग सातौँ पटक प्रतिस्पर्धा गर्न लाग्दा दोस्रो जितको प्रयासमा हुने छ। यसअघि भएका ६ भेटमा फिलिपिन्सले ४ मा जित निकाल्दा एक खेल बराबरी र अर्को एक खेलमा नेपालले जित निकालेको छ।
भारतमा हुने १४ औं संस्करणको साफ च्याम्पियनसिपको तयारीअन्तर्गत नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो। साफ च्याम्पियनसिप भारतको बैंगलोरमा आगामी ६ असार देखि १८ सम्म हुँदै छ। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले फिलिपिन्स भ्रमण र साफका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन्।
साविक उपविजेता नेपाल यो पटक बलिया राष्ट्रको समूहमा रहेको छ। साफको समूह ‘ए’ मा नेपालले साविक विजेता भारत, कुवेत र पाकिस्तानसँग खेल्ने छ। समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन्। यो पटक साफले कुवेत र लेबनानलाई आमन्त्रित टिमका रुपमा सहभागि गराउँदै छ।