काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की प्रहरीले आज फेरि अदालतमा उपस्थित गराउने तयारी रहेको छ ।
उनीविरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लो पटक थप गरेको १० दिनको म्याद सकिएपछि आज अदालतमा उपस्थित गराउन लागिएको हो ।
प्रहरीलाई उनीविरुद्धको अनुसन्धानका लागि अदालतले गत कात्तिक २० गते १० दिनको म्याद दिएको थियो । उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दामा अनुसन्धान भइरहेको छ ।
यसैबीच, आफ्ना सभापतिको पक्षमा निरन्तर आन्दोलनमा उत्रिएको रास्वपाले आज पनि पोखरामा प्रदर्शन गर्ने भएको छ ।
रास्वपाले बिहान १० बजे पोखराको जिरोमा समर्थकहरूलाई भेला हुन भनेको छ । त्यहाँबाट वाइचोकमा पुगेर सभा आयोजना गर्ने तयारी रहेको बताइएको छ ।