काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेसँग रुपन्देही प्रहरीले आज पनि बयान लिइँदैछ ।
मंगलबार रुपन्देही ल्याइएका लामिछानेसँग बुधबार साढे ८ घण्टा लामो बयान लिइएको थियो । तर, बयान नसकिएकाले आज फेरि लामिछानेसँग बयान लिइने प्रहरीले जनाएको छ ।
मंगलबार र बुधबार गरी उनीसँग १३ घण्टा लामो बयान लिइएको थियो । गोर्खा मिडिया नेटवर्क मार्फत सुप्रिम सहकारीको रकम अपचलन गरेको सम्बन्धमा जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा उनको बयान लिइएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितसहित अनुसन्धान अधिकृतहरूले लामिछानेको बयान लिएका हुन् । लामिछानेको बयान सम्भवतः आज सकिने प्रहरीको भनाइ छ । लामिछानेले मंगलबारको बयानमा जस्तै बुधबार पनि इनकारी बयान दिएको हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालय भैरहवामा बयान चलिरहँदा सडकमा रास्वपाका नेता कार्यकर्ताहरूले आन्दोलन गरिरहेका थिए । भैरहवास्थित बर्मेली टोलमा रास्वपाका नेता कार्यकर्ताहरूले राष्ट्रिय झण्डा सहित प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए । उनीहरूले राजनीति प्रतिशोधकै लागि निर्दोष व्यक्तिलाई थुन्न नपाइने भन्दै लामिछानेको रिहाइको माग गरेका हुन् ।
सोही मुद्दामा गोर्खा मिडियाका उपाध्यक्ष रहेका पूर्व डिआइजी छविलाल जोशीलाई यसअघि नै रुपन्देहीमा बयान गरेर पोखरा पठाइएको छ । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई भने मंगलबार भैरहवा ल्याएर बयान लिन सुरु गरिएको हो ।