गुल्मी । गुल्मीमा शैक्षिक जागरण ल्याउने उदेश्यले किरण पुस्तकालय गुल्मीले संचालन गरेको पाँच दिनको परिभ्रमण कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।
शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको किरण पुस्तकालय गुल्मीले साहित्यिक जागरण र पठन संस्कृतिको विकाससँगै शैक्षिक जागरण ल्याउने उदेश्यले गुल्मी जिल्लाका स्थानीय तह, क्याम्पस, पुस्तकालय र स्कुलहरुमा यहि मंसिर २ गतेदेखि पाँच दिने परिभ्रमण कार्यक्रम सञ्चालन गरेको पुस्तकालय ब्यवस्थापन समितिका अध्यक्ष शशी पन्थीले जानकारी दिनुभयो ।
गुल्मीमा शैक्षिक जागरण ल्याउन टोलीले पुस्तकालयद्वारा प्रकाशित “हाम्रो पुरुषार्थ” राष्ट्रिय साहित्यिक त्रैमासिक पत्रिकासँगै हालसम्म पुस्तकालयले प्रकाशनमा ल्याएका ऐतिहासिक महत्व बोकेका पुस्तक तथा पत्रपत्रिकाहरु लिएर यस जिल्लाका १२ वटै स्थानीय तह र जिल्लास्थित विभिन्न क्याम्पस र स्कुलहरुमा पुगेको बताउनुभयो ।
विशेषगरी किरण पुस्तकालयले प्रकाशन गरेको“हाम्रो पुरुषार्थ” र अन्य विशेषांकहरुको जानकारी, प्रचारप्रसार, पुस्तकालयका प्रकाशनहरु विभिन्न स्थानमा पुर्याउने र यस जिल्लाको वर्तमान शैक्षिक र अन्य विकासका गतिविधिहरुको संक्षिप्त अध्ययन गर्न परिभ्रमण कार्यक्रम तय गरिएकोमा परिभ्रमण उपलब्धीमुलक रहेको अध्यक्ष पन्थीले बताउनुभयो ।
परिभ्रमणमा पुस्तकालयद्वारा प्रकाशित “हाम्रो पुरुषार्थ” का विभिन्न विशेषाङ्क र करिब ३० प्रकारका प्रकाशनहरुलाई पालिका, क्याम्पस र विधालयमा वितरण गरिएको पुस्तकालय ब्यवस्थापन समितिका उपाध्यक्ष दिन पन्थीले बताउनुभयो ।
उपाध्यक्ष पन्थीले गुल्मी जिल्लासँग सम्बन्धित तथा नेपाली भाषा साहित्य र संस्कृतिसँग सम्बन्धित कृतिहरु लैजानुका साथै स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरु, शैक्षिक व्यक्तित्वहरु, क्याम्पस प्रमुखहरु, स्थानीय लेखक तथा कविहरुसँग पनि भेटघाट कला र साहित्यको विषयमा छलफल गरिएको बताउनुभयो ।
किरण पुस्तकालयका अध्यक्ष शशि पन्थीको नेतृत्वमा उपाध्यक्ष दीन पन्थी, पुस्तकालयका सभासद एवम् रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख चन्द्रकान्त पन्थी र ढुण्डीराज पोख्रेल, पुस्तकालयका सहायक ग्रन्थपाल ज्ञानराज मरासिनी सहित पाँच सदस्यीय टोलीले गुल्मी जिल्लाका ११ वटा स्थानीय तह र ति स्थानीय तहमा रहेका क्याम्पस, विधालय र बौद्धिक एवं साहित्यीक ब्यक्तित्वहरुसंग भेटघाट, छलफल र अनुभव आदानप्रदान गरेर जिल्ला भ्रमण सम्पन्न गरेको र यो भ्रमण उपलब्धीमुलक रहेको पुस्तकालयका सभासद् ढुण्डीराज पोख्रेलले बताउनुभयो ।


